BIZMANDU
www.bizmandu.com

भान्छा अझै महँगो भयो, दाल, चामल र चिउराको मूल्य बढ्यो, तरकारीको के कुरा ?

२०६९ साउन १४

भान्छा अझै महँगो भयो, दाल, चामल र चिउराको मूल्य बढ्यो, तरकारीको के कुरा ?
भान्छा अझै महँगो भयो, दाल, चामल र चिउराको मूल्य बढ्यो, तरकारीको के कुरा ?


काठमाडौ । सरकारको नियमन निकाय कमजोर भएको मौका छोप्दै व्यवसायीले खाद्यान्न वस्तुको मूल्य बढाएका छन् । यातायात भाडा बढेको भन्दै चामल, दालको मूल्य एक किलोमा १० रुपैयाँभन्दा बढीले बढेको छ । खाद्यान्नको मूल्यवृद्धिले भान्छा अझै महँगो भएको छ । सर्वसाधरणको आम्दानी नबढेको यो बेला मुल्यवृद्धिले उनीहरुको भान्छा व्यवस्थापनमा असहज हुनेछ । यो वर्ष पूर्ण बजेट नआएकोले सरकारी कर्मचारीको समेत तलब बढेको छैन ।
नेपाल खुद्रा बिक्रेता संघले यातायात भाडा १० प्रतिशतले बढेकोले सबै वस्तुको मूल्य बढेको जनाएको छ । संघका अनुसार पोखरेली चामल ५५ रुपैयाँबाट बढेर ६० रुपैयाँ, भारतीय बासमती चामल ८० बाट ८८ रुपैयाँ, जिरा मसिनो चामल ६० बाट ६५, सावा जिरा चामल ५० बाट ६०, मन्सुली ५० बाट ५५ रुपैया पुगेको छ ।
संघका अनुसार चिउरा ७५ रुपैयाँबाट बढेर ८० रुपैयाँमा कायम भएको छ । संघका अनुसार चना दाल एक सय १० रुपैयाँबाट बढेर १ सय २० रुपैयाँ कायम भएको छ । मासको दाल एक सय १० बाट बढेर ११५ रुपैयाँ पुगेको छ । मुसुरोको दाल एक सय रुपैयाँ बढेर ११० पुगेको छ ।
दाल, चामल, चिउरा मात्रै होइन तरकारीको मूल्य पनि आकासिएको छ । आलु, गोलभेंडा र लौकाको मूल्य आकासिएको छ । पहिले ३३ रुपैयाँ प्रतिकिलो पर्ने गोलभेंडा अहिले ६४ रुपैयाँ पुगेको छ । सानो गोलभेंडा प्रतिकिलो ३० रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।
रातो आलु प्रतिकिलो ३० बाट ४० रुपैयाँ, सेतो आलु २० बाट २८ रुपैयाँ र लौका २६ रुपैयाँ प्रतिकिलोबाट बढेर ३५ रुपैयाँ पुगेको कालीमाटी फलफुल तथा तरकार विकास समितिले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life