काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी काठमाडौंको कार्यालय उद्घाटन भएको छ । सोमवारै संस्थाले अन्तरलगानी कार्यक्रमको शुभारम्भ समेत गरेको छ । अन्तरलगानी शीर्षकमा संघका सदस्य संस्था दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले दुई करोड रुपैयाँ, जोरपाटी बचत तथा ऋण सहकारी संस्थाले ५० लाख गरी विभिन्न संस्थाबाट आठ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।
अन्तरलगानी कार्यक्रम नेपालका बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी संघ काठमाडौं (कास्कून) को संयुक्त आयोजनामा सञ्चालनमा ल्याइएको संस्थाले सोमवार जारी प्रेस विज्ञप्तिमा छ ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले अन्तरलगानी कार्यक्रमलाई बढाएर सदस्य संस्थाको हितमा संघले काम गर्नु पर्ने वताए । काठमाडौंमा रहेका करिब ३५ सय सहकारी संस्थामध्ये एक बर्षभित्र संघले ५० प्रतिशत सहकारीलाई सदस्य बनाउन सुझाव दिए ।
उनले सहकारीलाई मिलाएर जलविद्युत र मल काराखाना स्थापनामा लाग्न समेत आग्रह गरे । राष्ट्रिय सहकारी विकास बोर्डकी विशेषज्ञ सञ्चालक तथा राष्ट्रिय सहकारी संघकी सञ्चालक ओमदेबी मल्ल (जोशी)ले छोटो अवधिमै संघ नेपालकै नमूना संघ बन्ने विश्वास व्यक्त गरिन् ।
उनले सहकारीमा ४२ देखि ४७ प्रतिशतसम्म महिलाहरु रहेको बताउँदै दिईने तालिम तथा अन्य विभिन्न अवसरहरुमा महिलालाई सहभागिता गराउन आग्रह गरिन् । राष्ट्रिय सहकारी संघका सञ्चालक रविन्द्र के.सी.ले संघको नयाँ कार्यसमितिले छोटो अवधिमै गर्न थालेका विभिन्न गतिविधिले संघको यो टिमले काम गर्न सक्छ भन्ने ‘ग्रीन सिग्नल’ दिएको बताए ।
नेफ्स्कूनकै उपाध्यक्ष तथा कास्कूनका बरिष्ठ सल्लाहकार ऋषिराज घिमिरेले सदस्यहरुको लागि बचत तथा ऋण सहकारी संस्थाको महत्वका वारेमा कार्यपत्र पेश गरेका थिए । कास्कूनका अध्यक्ष शम्भुप्रसाद घिमिरेले अव कास्कून सहकारी अभियानलाई सहयोग पुग्ने विभिन्न कार्य गर्दै तीब्र गतिमा अगाडि बढिसकेको बताउँदै यसको कार्यमा सहयोग पु¥याउन सबै पक्षको सहयोगको अपेक्षा गरे । कार्यक्रमको सञ्चालन संघका सचिब केशबप्रसाद दंगालले गरेका थिए भने स्वागत मन्तव्य संघकै सञ्चालक दिपक पनेरुले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई संघका सञ्चालक कुशाश्री न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।