BIZMANDU
www.bizmandu.com

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा, भोटो जात्राको अवसरमा सरकारले दियो बिदा

२०७५ बैशाख २७

काठमाडौं। आउने आइतबार (वैशाख ३० गते) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। 
 
सरकारले यो वर्षदेखि विदा कटौती गरेको भए पनि काठमाडौं उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ। 
 
काठमाडौं उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो। 
 
उपत्यकाले मात्र पाउने अन्य विदामा गाईजात्रा भदौ ११ गते सोमबार, इन्द्रजात्रा असोज ८ गते सोमबार र घोडेजात्रा चैत २२ गते शुक्रबार परेको छ। 
 
गएको चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनामा भोटोजात्राको विदाको दिन भने तोकिएको थिएन। 
 
भोटोजात्रा मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याएको दिनसमेत गनेर चौथो दिनमा हुने गर्छ।
 
रथ तान्ने तिथि पाटन कृष्ण मन्दिर अगाडिको सत्तलमा ज्योतिषीहरुले साइत निकालेपछि जुर्छ। गएको हप्ता ज्योतिषीहरुले रथ जाउलाखेल तान्ने दिन आज (वैशाख २७ गते बिहीबार) तोकेका थिए। सोही अनुसार भोटो देखाउने जात्रा वैशाख ३० गते आइतबार हुँदैछ।
 
वैशाख ६ गतेदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख उपस्थित हुने परम्परा छ। 
 
यस पटक जेठ ३ गतेदेखि मलमास (अधिकमास) परेको हुनाले जात्रा छिट्टै सकिएको हो। यदि भोटो देखाउने साइत जेठ ३ अघि नजुरेको भए भोटोजात्रा पनि असारमा पर्न सक्थ्यो। 
 
लगातार दुई दिन विदा
यसअघि नेपालभर वैशाख १७ गते सोमबार र वैशाख १८ गते मंगलबार लगातार दुई दिन विदाको संयोग जुरेको थियो। सोमबार बुद्ध जयन्ती र मंगलबार मे दिवसको विदा थियो। 
 
वैशाखमै काठमाडौं उपत्यकावासीले अर्को लगातार दुई दिन विदा मनाउन पाउने भएका छन्। वैशाख २९ गते शनिबारको साबिक विदासँगै आइतबार भोटो जात्राको दिन लगातार विदा हुने भएको हो।
 
विदा कटौतिका कारण सरकारी कर्मचारीले जेठ, असार र साउनमा शनिबारको साबिक विदा बाहेक अरु पाउने छैनन्। यस पटक गणतन्त्र दिवसको जेठ १५ गतेको विदा पनि कटौति गरिएको छ। 
 
लगातार दुई दिन विदाको संयोग अब फागुनमा जुर्दैछ। फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस शुक्रबार परेको छ। यो दिवसमा देशभर विदा हुनेछ। 
 
त्यस्तै काठमाडौं उपत्यकाले भने फेरि लगातार दुई दिन विदा चैतमा पाउँदैछ। चैत २२ गते शुक्रबार घोडेजात्राको विदाको भोलिपल्ट शनिबार परेको छ। 

Tata
GBIME
Nepal Life