क्यालिफोर्निया । एप्पलले आईफोनमा प्रयोग गर्दै आएको आईओएसको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले क्यालिफोर्नियामा आयोजना भईरहेको वल्र्ड वाईड डेभलपर्स कन्फरेन्सको अवसर पारेर नयाँ अपरेटिङ सिस्टम आईओएस सेभेन सार्वजनिक गरेको हो । नयाँ ओएस पुरानोको तुलनामा पूर्ण तथा परिवर्तित एवं फरक भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले बताए । २००७ मा सार्वजनिक भए यता कम्पनीले पहिलो पटक ओएसमा ठूलो परिवर्तन ल्याएको हो ।
नयाँ ओएसको डेभलपर भर्सन बजारमा उपलब्ध भईसकेको छ भने सर्वधारणका लागि आउँदो शरद ऋतुमा उपलब्ध हुनेछ । नयाँ आईओसमा भएको सुविधाहरु कस्ता छन ? नयाँ ओएसमा आईकनहरु साना र चिटिक्क परेका छन् । यसैगरी यसमा स्वाईप गरेर कन्ट्रोल सेण्टरमा पुग्न सकिन्छ जसमा प्रयोगकर्ताले निरन्तर प्रयोग गरिरहने फिचरहरु व्लुटुथ, म्युजिकप्लेयर आदि रहिरहेका हुन्छन । यसैगरी आईओस सेभेनमा नयाँ फन्ट, नयाँ आईकन तथा बारहरु थपिएका छन् ।
एप्पलले सिरीलाई पनि पूर्णरुपमा परिवर्तन गरेको छ । यसमा नयाँ पुरुषको आवाज थपिएको छ भने यसले विकिपिडिया, ट्विटर, विंग आदिबाट पनि सर्च गर्न सक्छ । कम्पनीले वेब ब्राउजर सफारीमा पनि परिवर्तन ल्याएको छ । सफारीमा ट्याब इन्टरफेस सहित पूर्णतया नयाँ डिजाईन छ । यसैगरी एक पटक थिचेको भरमा प्रयोगकर्ताको फेभरेट वेभसाईटमा पुग्ने सुविधा पनि छ ।
नयाँ ओएसमा एप्सहरुमा पनि नयाँ सुविधा थपिएको छ । अबदेखि आईओएसमा हुने सबै एप्सहरुमा मल्टि टास्कीङ सुविधा हुनेछ । आईओएस सेभेनमा क्यामराको लागि नयाँ एप्स राखिएको छ । यसले इन्स्टाग्राममा अपलोड गर्न अटोमेटिक रुपमा वर्गाकार फोटो खिच्छ । यसैगरी नयाँ एप्सले फोटोलाई ठाउँ र समयको आधार मिलाएर राख्न सक्छ ।
नयाँ ओएसको महत्वपूर्ण सुविधा भनेको एप्स अटो अपडेट हो । यसमा इन्स्टल भएका एप्सहरु आफैं अपडेट हुन्छन । प्रयोगकर्ताले झन्झट व्यहोर्नु पर्दैन । यसैगरी यसमा चोरी भएको फोन पत्ता लगाउनकालागि एण्टी थेप्ट सुविधा पनि छ ।