BIZMANDU
www.bizmandu.com

‘भेजी एक्सप्रेस फाष्टफुड’अर्थात् गुड्ने रेष्टुरेन्ट,लण्डनमा सिकेको उद्यम नेपालमा यसरी फस्टायो


‘भेजी एक्सप्रेस फाष्टफुड’अर्थात् गुड्ने रेष्टुरेन्ट,लण्डनमा सिकेको उद्यम नेपालमा यसरी फस्टायो
‘भेजी एक्सप्रेस फाष्टफुड’अर्थात् गुड्ने रेष्टुरेन्ट,लण्डनमा सिकेको उद्यम नेपालमा यसरी फस्टायो

काठमाडौं। चितवनको  रत्ननगर आसपास हरेक दिन मध्यान्नपछि एउटा भ्यान रोकिन्छ। भ्यान अनौठो छ।  कौतुहल मेट्न नजिकै जानेहरु अचम्ममा पर्छन् जब कार्गो भ्यानको छतमा सोलार देखिन्छ। अनि भ्यानमा टाँगिएको खानेकुराको मेनु र किचेन कर्नरतिर सबैको ध्यान जान्छ।

Tata
GBIME
Nepal Life

गाडी भित्र  फ्रिज, कोल्ड ड्रिङ्क्स, जुस, अनि पकाउने सरसामान छन्।  छेउमा टेबुल कुर्सी। जब रत्ननगरका सूर्यचन्द्र खतिवडाले लण्डनमा देखेको मोबाइल रेष्टुरेन्टकै कन्सेप्ट नेपाल भित्र्याए; अनि सुरु भयो  ‘भेजी एक्सप्रेस फास्ट फुड ट्रक’।
३५ वर्षका सुर्य आठ वर्ष बिदेशमा रहे। कहिले चीन  कहिले मकाउ अनि कहिले लण्डन। आठ वर्षको बिदेश बसाइमा उनले बिभिन्न होटलमा काम गरे। स्कटल्याण्डमा उनले म्याकडोनाल्डमा काम गरे। त्यसबेलासम्म उनी बर्गर, स्याण्डविच, फ्रेन्च फ्राइज  अनि बिभिन्न चिनियाँ फास्टफुड बनाउन पोख्त भैसकेका थिए । म्याक डोनाल्डमा काम गरेपछि  त झन् उनी एशियाली र यूरोपेली सबै किसिमका फास्टफुड बनाउन पारंगत भए। सूर्यले स्कटल्याण्डमा  छँदा नै फास्टफुड मोबाइल भ्यान संचालनको भेउ पाए।

सूर्य भन्छन्, 'बिदेशमा काम सजिलो थियो। आम्दानी पनि राम्रो। तर आफन्त थिएनन्। परिवार थिएन। हामी दुई परदेशमा रमाएनौं। देशमै मेहनत गरौं भनेर फर्केपछि मोबाइल रेष्टुरेन्ट थालियो।’

जम्मा ६ महिना भयो रत्ननगरमा ‘भेजी एक्सप्रेस फास्ट फुड ट्रक’ गुड्न थालेको।  फ्रिज, सोलार, इन्भर्टर सहितको कार्गो भ्यानमा उनले २० लाख रुपैयाँ खर्चेको बताउँछन्। नगरपालिका र ट्राफिक कार्यालयसँग समन्वय गरी मोडफाइ गरिएको भ्यानमा सूर्यले  शाकाहारी फास्टफुडमात्रै बिक्री गर्छन्।

खाली चौरमा भ्यान  राखेपछि भ्यान वरिपरी केराको मःमः, लाफिङ, फ्रेन्च फ्राइ, भेज वर्गर, स्याण्डविच,आलुटिक्की, आइसक्रिम जस्ता परिकार खानेहरुको भिड नै लाग्ने गरेको छ। रत्ननगरमा उनले नै पहिलोपटक लाफिङ खुवाउन सुरु गरे। नयाँ किसिमका परिकारको स्वाद बसेपछि बच्चादेखि बुढासम्मको चहलपहल बढेको सूर्य बताउँछन्।

एकदिन ७० वर्षजतिका बुवा आउनुभयो। उहाँले बर्गर अर्डर गर्नुभयो। ‘एकमहिना अष्ट्रेलिया बस्दा यस्तै भ्यानबाट बर्गर खाएको थिएँ। आज यहाँ खाँदा अष्ट्रेलिया नै पुगेको जस्तो भयो बाबु’ भन्नुभयो।– ग्राहकहरुबाट यसरी आउने अप्रत्यासित र अनौठा प्रतिक्रियाले आफू धेरै नै उत्साहित भएको बिजमाण्डूसँगको कुराकानीमा सूर्यले बताए।

सामान्य दिनमा १३ हजार रुपैयाँ जतिको कारोबार हुने गरेको र मेला महोत्सवका समयमा दिनको ३५ हजारको कारोबार हुने गरेको उनले बताए। उनका अनुसार हाल भेजी एक्सप्रेस फास्टफुड ट्रकमा तीन जना कार्यरत छन्। भ्यानमा छिटै वाइफाइको सुविधा  राख्ने योजना रहेको सूर्यले जानकारी दिए।