काठमाडौँ। घरायसी तथा मृत्युपछिको शेयर नामसारी केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले गर्ने भएको छ।
लगानीकर्ताको सहजताकालागि घरायसी तथा मृत्यु पछिको शेयर नामसारी सिडिएससीलार्इ दिने बारे नेपाल धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको छ। ‘लगानीकर्तालार्इ सहज पार्न अध्ययन भैरहेको छ’बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने।सिडिएसीले घरायसी तथा मृत्युपछिको शेयर नामसारीका लागि कार्यविधि बनाएको जनाएको छ।‘बोर्डको निर्देशन अनुसार कार्यविधि बनाएर स्वीकृतीका लागि पठाएका छौ’ सिडिएसीका प्रवक्ता सुरेश न्यौपानले भने।उनका अनुसार कार्यविधि स्वीकृत भएपछि घरायसी र मुत्युपछिको शेयर नामसारी हुनेछ।
यस अघि घरायसी तथा मृत्युपछिको शेयर नामसारी नेपाल स्टक एक्सचेञ्जले गर्दै आएको थियो। देशै भरिका लगानीकर्ताले शेयर नामसारी गर्न काठमाडौँनै आउनुपर्ने बाध्यताका कारण नेप्सेमा नामसारीकालागि भीड लाग्ने गरेको छ। आफ्नै घरका नातेदार र मृत्युपछिको नामसारी गर्ने प्रक्रिया पुरा हुन १५ देखि दुई महिना सम्म लाग्ने गर्छ।
यसरी हुन्छ नामसारी
हजुरबुबा र नातीबीच आउने सबै नाताको घरायसी नामसारी गर्न सकिन्छ। मृत्युको हकमा भने सबैभन्दा नजिकको हकदारको नाममा नामसारी गर्न सकिन्छ।
घरायसी नामसारी गर्न सबैभन्दा पहिले नेप्सेमा नामसारी गरि दिने र लिने दुबैले २/२ वटा निवेदन दिनुपर्छ।निवेदनसँगै दुवैको नागरिकताको प्रतिलिपी, शेयरको सक्कल प्रमाणपत्र, लिने/दिने बीचको नाता प्रमाणको दुर्इ/दुई प्रतिलिपि र बैंकमा बुझाएको शुल्कको भौचर राख्नुपर्छ।साथै सबै प्रतिलिपिको सक्कल लिएर स्वंय उपस्थित हुनुपर्ने नियम छ। शुल्कको हकमा कागजी शेयर भए शेयर संख्याको आधारमा फेस भ्यालुमा गणना गरि तीन प्रतिशत देखि एक प्रतिशत र डीम्याट गरेको भए दुई प्रतिशत नामसारी शुल्क बैंक मार्फत बुझाउनुपर्छ ।
मृत्यु नामसारी गर्न चाहनेले मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी दुई प्रति, हकवाला भए उसको मञ्जुरीनामा दुई प्रति,शेयर लिने र मञ्जुरीनामा दिने समेतको नागरिकताको प्रतिलिपी दुर्इ, हकवालाको मञ्जुरीनामा दुर्इ प्रति, नाता प्रमाणित प्रतिलिपी दुई प्रति,शेयर लिनेको निवेदन दुई प्रति र शेयरको सक्कल प्रमाणपत्र लिएर स्वंय उपस्थित हुनु पर्छ।
शुल्कको हकमा ०.५ प्रतिशत देखि ०.३ प्रतिशतसम्म तिर्नुपर्ने प्रावधान रहेको छ । सबै निवेदन फारम र कागजी प्रक्रिया पुरा गरेपछि नेप्सेले आवश्यक जाँच बुझ गरेर सम्बन्धित शेयर रजिस्टारलाई नामसारी गर्न निवेदन दिएकै दिन सिफारिश गरिदिने गरेको छ । नेप्सेले आफ्नो प्रक्रिया सकिएपछि शेयर रजिस्टालाई सिफारिश गरिदिन्छ।त्यसपछि रजिस्टारले आवश्यकता हेरी प्रक्रियालाई अगाढी बढाउँछ।एकाघरको भए त्यहिबाट नामसारी हुन्छ। मृत्यु पछिको नामसारी भए ३५ दिने सुचना जारी गर्ने प्रक्रियामा लैजान्छ।