काठमाडौं। तरलता अभावसँग जुधिरहेका बैंकहरुमा एक सातामा १६ अर्ब रुपैयाँ निक्षेप बढेको छ। राष्ट्र बैंकले यसलाई सकारात्मक भन्दै आगामी दिनमा निक्षेप बढेर जाने संकेतहरु भेटिन थालेको उल्लेख गरेको छ।
निक्षेप बढ्नुको कारण राष्ट्र बैंकले ब्यवस्थापन गरिरहेको कतिपय सरकारी संस्थाको खातापाता अब बाणिज्य बैंकहरुले सञ्चालन गर्न थालेका छन्। यही कारण निक्षेपमा सुधार भएको राष्ट्र
बैंकका अधिकारीहरुले बताए।
गत फागुन २५ गते २२ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप चैत २ गते २२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये १ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप बढेको छ।
'बाणिज्य बैंकहरुमा खाता खोलेर पनि काम चल्ने सरकारी संस्थानहरुलाई उतै कारोबार गर्न हामीले भनेका थियौं' राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिजमाण्डूसँग भने, 'त्यसको प्रभाव पनि निक्षेपमा देखिएको हो।' तर त्यो निर्णयले निक्षेपमा बृद्धि भए पनि १६ अर्बको बृद्धि भने नहुने उनले बताए। 'अन्य स्रोतहरुबाट पनि निक्षेप संकलन भएको हुनु पर्छ' उनले भने।
एक साताको अवधिमा बढेको निक्षेपमध्ये दुई दिनमा मात्र ११ अर्ब पैसा बैंकहरुमा आएको छ। ११ अर्बमध्ये ५ अर्ब राष्ट्रिय बाणिज्य बैंक र तीन अर्ब एभरेष्ट बैंकमा निक्षेप बढेको छ। साताभरीमा बढेको १६ अर्ब निक्षेपमध्ये सरकारी कारोबार गर्ने संस्थाहरुमा आएको छ।
मिति |
निक्षेप (रु. अर्बमा) |
कर्जा (रु. अर्बमा) |
माघ/7/2074 |
2209.01 |
1924.79 |
माघ/12/2074 |
2205.506 |
1931.39 |
माघ/19/2074 |
2204.26 |
1939.16 |
माघ/26/2074 |
2207.8 |
1947.04 |
फागुन/3/2074 |
2207.23 |
1952.05 |
फागुन/11/2074 |
2206.5 |
1955.23 |
फागुन/18/2074 |
2216.31 |
1958.17 |
फागुन/25/2074 |
2218.59 |
1962.15 |
चैत/2/2074 |
2234.54 |
1964.31 |
सरकारले ठेकेदारहरुलाई भूक्तानी गर्न थालेकाले पनि निक्षेप बढेको बैंकरहरुको बुझाइ छ। 'ठेकेदारको खातामा पैसा आएका कारण हाम्रो पनि निक्षेप बढेको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने।
एक साताको बीचमा ऋण लगानी जम्मा दुई अर्बले मात्र बढेको छ। यसअघिका सातामा निक्षेपभन्दा ऋण लगानी बढि हुने गरेको थियो। चैत २ गतेसम्म २८ बाणिज्य बैंकले १९ खर्ब ६४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।
'सरकारी निकायको निक्षेप परिचालन गर्नका लागि हामीले उनीहरुको राय मागेका थियौं' प्रवक्ता पौडेलले भने, 'उनीहरुले आफ्नो पैसा राष्ट्र बैंकबाट बाणिज्य बैंकमा राख्न थालेको देखिन्छ।'
यता बैंकहरुले भने स्थानीय तहमा केही पैसा खर्च हुन थालेकाले गाउँतिरका शाखाहरुमा निक्षेप बढेको बताएका छन्।