BIZMANDU
www.bizmandu.com

एनसिसीसँग मर्ज भएको तत्कालिन एपेक्सका कर्मचारीलाई बैंकिङ कसुरमा पक्राउ, २ अर्ब घोटाला

२०७४ चैत्र २

काठमाडौं। नक्कली पुर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसिसी बैंकका कर्मचारी पक्राउ गर्न थालेको छ। सिआइबि प्रमुख पुष्कर कार्कीले भने- यो प्रारम्भिक अपरेशन हो। हामी अनुसन्धान गरिरहेका छौं।
 
एनसिसीसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकको आग्रहमा सिआइबीले अनुसन्धान थालेको हो। करिव २०० करोडको ऋणमध्ये ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
 
१५६ करोड रुपैयाँ ऋण उठ्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्सानी ब्यवस्थापन गर्न निर्देशनसमेत दिएको थियो। यही ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकले सिआइबी कारवाहीका लागि पठाएको हो।
 
एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो। उनले झापा, काठमाडौं लगायतका क्षेत्रमा नक्कली जग्गा श्रृजना गरेर ऋण दिएका थिए।
 
साथै मर्जरमा साइन गरेपछि एक करोडमाथिको ऋण दिनु परे मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति विपरित ऋण लगानी भएको थियो। एपेक्सले एक करोड भन्दा सानो फाइल बनाउँदै दुई अर्ब ऋण लगानी गरेको अनुसन्धानमा देखिएको छ।  

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले कारवाहीका लागि दुई साता अगाडि सिआइबीलाई लेखेको थियो। अहिलेसम्म  धिताल, दुर्गादत्त जोशी र डिठ्ठाबहादुर तामाङसहित १३ जना पक्राउ परिसकेका छन्।