काठमाडौं । अर्थमन्त्रालयले वैशाखमा २ सय ३४ अर्व ४५ करोड रुपैयाँ राजश्व संकलन गरेको हो । सरकारी लक्ष्य २ सय २६ अर्व ५ करोड भए पनि उसले १०३ प्रतिशत वढी राजश्व संकलन गरेको हो ।
सरकारले भन्सार महसुल ४६ अर्व ७३ करोड, मुल्य अभिवृद्धि कर ६८ अर्व २९ करोड रुपैयाँ संकलन गरेको छ । अन्तशुल्क २९ अर्व ५ करोड र आयकर ५२ अर्व १२ करोड संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । सरकराले वैशाखसम्म रजिष्ट्रेशन दस्तुर वापत ४ अर्व २ करोड, सवारी साधन कर वापत ३ अर्व ९० करोड र अन्य कर र गैरकर गरी ३० अर्व ३४ करोड रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्षको बैशाख महिनासम्म राजस्व असुलीमा भन्सार महसुलको अंश २० प्रतिशत, मुल्य अभिवृद्धि करको अंश २९ प्रतिशत, अन्त शुल्कको अंश १२ प्रतिशत रहेको छ । आयकरको अंश २२ प्रतिशत, रजिष्ट्रशन दस्तुर, सवारी साधान कर र अन्य करको अंश ५ प्रतिशत र गैरकरको अंश १२ प्रतिशत रहेको छ ।
राजस्व असुली लक्ष्यभन्दा बढी हुनुमा राजस्व प्रशासनको कार्यक्षमतामा अभिवृद्धि हुनु, भन्सार मुल्यांकनलाई यथार्थपरक र वस्तुगत वनाइनु, वस्तु वर्गीकरणको प्रभावकारी कार्यान्वयन गरिनु रहेको सरकारले जनाएको छ । सरकारले जाँचपास प्रक्रियाको सरलीकरण र चुहावट नियन्त्रणमा प्रभाकारिता ल्याइनु र सीमा सुरक्षालाई प्रभावकारी बनाई सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणमा सफलता हासिल भएकाले पनि राजश्व संकलन वढी भएको जनाएको छ । अर्थ सचिव शान्तराज सुवेदीले आयातमा भएको बृद्धिका साथै आन्तरिक अनुगमनमा तीव्रता दिएको, नक्कली भ्याट विल कारोवारमा संलग्नलाई विना मोलाहिजा कारवाही गरिएको जानकारी दिए । ।
कर परिक्षण तथा अनुसन्धानलाई प्रभावकारी वनाईदै लगिनु, कर बक्यौता असुली गर्न स्पष्ट कार्य योजना बनाई कार्यान्वयन गर्नुका साथै करदाता शिक्षामा जोड दिईनु, घर बहालकर संकलन अभियानको सफलता, बजार अनुगमन तथा चोरी पैठारी नियन्त्रणमा सुधार हुनु, नियमित गस्ती, चुहावटका संभावित क्षेत्रहरुको पहिचान, मन्त्रालयबाट मातहत विभाग तथा कार्यालयहरुको नियमित अनुगमन, निरीक्षण तथा समन्वयले गर्दा पनि राजस्व असुलीमा उत्साहजन वृद्धि भएको अर्थ सचिवले जानकारी दिए । ।