BIZMANDU
www.bizmandu.com

चाउमिनबाटै महिनाको २ लाख कमाइ, कृष्ण भन्छन् : गरी खान सरकारसँग मागिराख्नु पर्दैन

२०७४ माघ ६

सिन्धुपाल्चोक: रोजगार माग्दै युवाहरु सडक प्रदर्शनमा उत्रन्छन्। उनीहरुको माग हुने गर्छ–स्वदेशमै रोजगार चाहियो। 
 

ठुलै ब्यानरमा ‘सरकार काम गरेर खान दे’ भन्दै जुलुशमा निस्कने युवा जमातलाई एकजना युवाले यसरी जवाफ दिएका छन् –  काम गरी खान सरकारसँग मागिराख्नु पर्दैन। आफै गरी खान सकिन्छ।
 
यसरी युवाहरुका लागि उदाहरण बनेका उनी हुन्, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका कृष्णबहादुर तामाङ।
 
आफ्नै गाउँबाट दैनिक युवाहरु वैदेशिक रोजगारका लागि बाहिरिँदै गर्दा कृष्ण भने गाउँमा आफैले स्वरोजगार स्थापना गरी उदाहरण बन्न सफल भएका छन्।
 
कुनै समय बेखर्ची भएर दैनिक फूर्सदमा बस्ने कृष्णको दैनिकी अहिले फेरिएको छ। 
 
बिहान ५ बजे उठ्छन्। अनि, अघिल्लो दिन तयार पारेका चाउमिन बाइकमा राखेर मेलम्ची नगरपालिका नजिकै पुग्छन्। 
चाउमिन वितरणबाट फर्केपछि दिउँसो चाउमिन बनाउँछन्। झन्डै दश घन्टा खट्छन् काममा। 
 
एसएलसीसम्म अध्ययन गरेका २३ वर्षे कृष्णको गत जेठदेखि दैनिकीसँगै कमाइको हिसाब पनि फेरिएको छ। उनको मासिक कमाई दुई लाख हुन्छ। ‘खर्च कटाएर मासिक ३५ हजारसम्म आफूलाई बस्छ,’ कृष्णले भने।
 
गाउँमा चाउमिनको कुनै अभाव छैन। सिन्के चाउचाउ छ्याप्छ्याप्ती पुग्छन्। बजारको यस्तो वातावरण रहेको अवस्थामा कसरी सुरु गरे त कृष्णले चाउमिन व्यवसाय?
 
‘हातमा सीप भएकोले पनि आँट आयो, धेरै समय बेरोजगारमै टोलिएपछि बुबाआमासँग कुरा राखें,’ चाउमिन मेसिन चलाउँदै गरेका कृष्णले भने, ‘उहाँहरु पनि राजी हुनुभयो, त्यसपछि मेरो सपनाले रुप पायो।’
 
सानैबाट भक्तपुरका एक चाउमिन कारखाना काम गरेकाले पनि उनलाई यो साहस आएको सुनाउँछन्। भन्छन्, ‘हेल्पर भएर २ महिना काम गरेर र मिस्त्री भएर ६ वर्ष जति काम गरेँ र जसबाट चाउमिन बनाउने तरिका र यो व्यवसायबाट हुने फाइदाबारे बुझें।’
 
यति धेरै काम गरेपछि पनि खासै केही परिवर्तन नभएपछि उनले पढाइ छाडे। सँगै काम पनि। केही वर्ष यतिकै रुमल्लिएर हिँडे। उनी भन्छन्, ‘एसएलसी पास गरेपछि पढ्न सकिएन। सँगैका साथीहरु कोही विदेश हिँडे। कोही जागिरे भए। मैले भने खासै केही गर्न सकिनँ। विदेश जाने रहर पलाएन। त्यसपछि आफैले जानेको सीपकै पछि लागें।’ 
 
अहिले उनी बिबेक नुडल्सका संस्थापक भएका छन्। सिन्के चाउचाउको बजारमा उनको ताजा चाउमिनको माग बढेको छ। 
कसरी बजार बढाए त उनले ? 
 
‘गाउँमै ताजा चाउमिन बन्न थालेपछि माग बढ्यो,’ उनी ढुक्कका साथ भन्छन्, ‘यसले मलाई भ्याइनभ्याइ बनाइदिएको छ।’
बिबेक नुडल्सले उत्पादन गरेको चाउमिन यतिखेर इन्द्रावती गाउँपालिकाको १२ वडामा पुग्ने गरेको छ साथै मेलम्ची नगरपालिकामा समेत पुग्छ।
 
काममा अप्ठेराहरु पनि आइपर्छन्।
 
उनी भन्छन्, ‘कहिलेकही मैदा नै गुणस्तरहीन पर्दा भने निकै दुःख हुन्छ। यसले चाउमिनको गुणस्तर मात्र खस्किदैन। चाउमिन टुक्राटुक्रा हुन्छ। काम नै डबल गर्नुपर्ने हुन्छ।’
 
कहिलेकाही चाउमिन बनाउँदा बनाउदै बत्ती जाने र चाउमिन बनाउनका लागि तयार गरिएको पिठो बिग्रने गर्दा निकै घाटा पनि खेप्नुपरेको पीडा उनले सुनाए।
 
उसो त चाउमिन बजारमा पुर्‍याउन पनि उनी आफै जान्छन्। भन्छन्, ‘कहिलेकही त चाउमिन वितरणमा जाँदा बाटो खराब हुन्छ, साधन बिग्रन्छ।’
 
तर, पनि उनी यी अप्ठेरालाई सामान्य ठान्छन्। भन्छन्, ‘काम गर्दा अप्ठेरा नभए अघि बढ्नै सकिदैन। यस्तै अप्ठेराहरुले नै सिकाउँदै जानेरहेछ।’ 
 
रोजगार माग्दै हिँड्ने युवाहरुलाई उनको सुझाव छ– काम गरी खान सरकारलाई मागी राख्नु पर्दैन। आफै गरी खान सकिन्छ।

Tata
GBIME
Nepal Life