BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक मर्जर प्रकृया अगाडि बढ्यो, स्वाप रेसियो १:१

२०७४ माघ ४

राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक मर्जर प्रकृया अगाडि बढ्यो, स्वाप रेसियो १:१
राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक मर्जर प्रकृया अगाडि बढ्यो, स्वाप रेसियो १:१

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिन शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ। दुबै बैंक बराबरी हैसियतमा गाभिने भएका छन्।
 
२०७३ माघबाट सुरु भएको मर्जर प्रकृयाले  अब अन्तिम रुप लिन लागेको हो। अर्थमन्त्रालयले मन्त्रिपरिषद् वैठकबाट मर्जर गर्ने औपचारिक निर्णय गरेपछि दुबै संस्थाबीच औपचारिक सम्झौता भएको थियो। दुबै संस्था मर्जरका लागि राष्ट्र बैंक पुगेर सैद्धान्तिक स्वीकृति लिएसँगै स्वाप रेसियो टुङ्गिएको हो। 
 
राष्ट्रिय बाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वको बैंक हो। एनआइडिसीको भने केही शेयर सर्बसाधारणसमा पनि छ। एनआइडिसीको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जमा रोकिएको छ।
 
मर्जरको औपचारिक घोषणा गर्न एनआइडिसीले माघ १९ गते विशेष साधारणसभा डाकेको छ। सभाले शेयर आदन प्रदान अनुपातलाई अनुमोदन गर्ने छ। राष्ट्रिय बाणिज्य बैंकको एक शेयर बराबर एनआइडिसीको एक शेयर मूल्यांकन गरिएको छ।
 
एनआइडिसीमा एक प्रतिशतभन्दा कम सेयर सर्वसाधारणमा छ। राष्ट्रिय वाणिज्य बैकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड नाघिसकेको छ। एआइडिसीको भने ४१ करोड ५८ लाख रुपैयाँ छ। तर जगेडा कोषमा भने तीन अर्ब रुपैयाँभन्दा वढि छ। एनआइडिसीमा सर्वसाधारणको ३० हजार ९१० कित्ता शेयर छ। सरकारको स्वामित्व ९९.२६ प्रतिशत छ।
 
मर्जर हुँदा शेयर लिन नचाहने सर्वसाधारणले एक कित्ता बराबर ४४८४ रुपैयाँ ३० पैसा पाउने छन्। यो रकम संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकनका आधारमा तय गरिएको हो। 
 
अर्थ मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीका अधिकारीहरु सम्लित मर्जर समितिले  प्रकृया सबै सकेपछि साधारणसभा डाकिएको हो। यसपालीको मर्जरमा कर्मचारीहरुलाई 'कन्फिडेन्स' मा लिएर प्रकृया थालिएको थियो। यसअघि पनि मर्जर प्रकृया सुरु गरिएको थियो। तर कर्मचारीका विरोधका कारण अगाडि वढ्न सकेको थिएन। 

Tata
GBIME
Nepal Life