काठमाडौं । अमेरिकी अर्थतन्त्र सुध्रन थालेपछि नेपाली मुद्रासँग डलरको विनिमय पाँच महिनाकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको रिफ्रेन्स रेटमा मंगलवार डलर २४ पैसाले बढेपछि ८८ रुपैयाँ २१ पैसा पुगेको छ । यसअघि जनवरी ९ मा डलर ८८ रुपैयाँ ५३ पैसाको स्तरबाट तल झरेको थियो, फेरी मार्च २० मा डलर बढेर ८८ रुपैयाँ २० पैसाको स्तरमा पुगेको थियो । त्यसयता तल झरेर ८६ रुपैयाँसम्म कारोवार भैरहेको डलर बढ्न थालेको हो । पछिल्लो दुई सातामा मात्रै डलर एक रुपैयाँ ७१ पैसाले बढिसकेको छ ।
भारतसँग स्थिर विनिमयदर भएको नेपाली मुद्रा भारु र डलरवीचको घटबढमा प्रभावित हुन्छ । अमेरिकी अर्थतन्त्रमा सुधार भएको तथा भारतले सुन र पेट्रोलियम पदार्थको खरिदमा बढी डलर खर्च गरेपछि भारु कमजोर बनेको थियो । भारतको केन्द्रीय बैंकले भारुको अवमूल्यनलाई रोक्न सोमवार सुन आयातमा गरिएको कडाई तत्कालै लागू गर्ने घोषणा गरेको छ । यो घोषणा लगत्तै ठूलो मात्रामा क्षयी भएको भारुले पुन फर्ममा फर्कन थालेको छ ।
केन्द्रीय बैंकले मे ३ मा गहनाका लागि आवश्यक पर्ने सुन बैंकको माध्यमबाट आयात गर्ने घोषणा गरेको छ । सोमवार केन्द्रीय बैंकले यो योजना तत्काली लागू हुने घोषणा गरेको छ । सोमवार मात्रै भारतमा सुन आयातका कारण व्यापार घाटा १३८ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको थियो ।