BIZMANDU
www.bizmandu.com

ओलीले भने-सियो, धागोदेखि तरकारीसम्म विदेशको भर किन? नयाँ सरकारले स्वदेशमै उत्पादन बढाउँछ

२०७४ पुष २

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपीशर्मा ओलीले अब मुलुकको मूख्य एजेन्डा नै आर्थिक समृद्धि रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँदै लैजाने बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने गरि योजना बनाउने बताए।नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गरिने बताए।

सियो, धागोदेखि चामल र तरकारी/फलफुलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गरिने उनले बताए।देशभित्रै उत्पादन गर्नसक्ने कुरा पनि बाहिरबाट ल्याउनुपरेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री ओलीले एकाध वस्तुबाहेक धेरै कुरामा आत्मनिर्भर हुनसक्ने बताए।

केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर रहेको बताउँदै ओलीले अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था आएको बताए।सरकार सडक बनाउने, उद्योगधन्दाको विकास गर्ने, रोजगारी बढाउने, अन्य पूर्वाधारको विकास गर्ने र देशलाई उन्नत बनाउने अभियानमा आफु लाग्ने बताउँदै उनले देशको विकास उन्नति र प्रगतिका लागि स्वदेशी उद्योग र उत्पादनलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए।

 महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताए।