BIZMANDU
www.bizmandu.com

स्टकको आगलागी छानबिन गर्न अर्थमन्त्रालयको नेतृत्वमा समिति गठन, ५० लाख भन्दा बढी क्षति

२०७४ मंसिर २८

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । 
 

सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए । समितिमा को को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन । आगलागीका कारण स्टकको रु ५० लाखभन्दा बढी क्षति भएको हुनसक्ने देखिएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सलेसमेत छानबिन शुरु गरेको छ । “थप क्षति कति भयो भन्नेबारेमा अध्ययनबाट मात्रै थाहा हुन्छ, छानबनि प्रक्रिया प्रारम्भिकरुपमा शुरु भएको छ” –पराजुलीले भने। 
 
उता आगलागीका कारण आज केही समय बन्द भएको धितोपत्र बजार भने सकारात्मक देखिएन । स्टकको केन्द्रीय सर्भर नै नचलेपछि कारोबार एक घण्टा ५५ मिनेटपछि शुरु भएको थियो । बजार सामान्यतया बिहान ११ बजेदेखि शुरु हुने भए पनि आज १३ बजेदेखि शुरु भएको थियो । 
 
आज बजार भने साँझ १७ बजेसम्म खुला रहेको थियो । स्टककाअनुसार आज कुल १५३ कम्पनीको १४ लाख ८४ हजार ३६१ कित्ता सेयर रु ४५ करोड ३१ लाख ४४ हजार ९२९ मूल्यमा कारोबार भएको छ । 
 
नेप्से परिसूचक भने शुन्य दशमलव ५९ बिन्दुले घटेर एक हजार ५२० अंकमा पुगेको छ । आज व्यापार तीन दशमलव १३, फाइनान्स चार दशमलव २३, उत्पादन चार दशमलव ०९ र अन्य समूह १३ दशमलव ५९ बिन्दुले बढेको थियो । यस्तै बैंकिङ एक दशमलव ९३, होटल २७ दशमलव ६४, विकास बैंक एक दशमलव ५८, जलविद्युत् २३ दशमलव ४८ र बीमा समूह २० दशमलव ५७ बिन्दुले घटेको छ । 
 

Tata
GBIME
Nepal Life