BIZMANDU
www.bizmandu.com

आयरल्याण्डका ५० बसमा नेपाल, पर्यटक आर्कषित गर्न चार हजार युरो खर्च

२०६९ साउन ८

डब्लिन । आएरल्याण्डको राजधानी डब्लिनमा गुड्ने बसहरुमा नेपाल घुम्न जान प्रेरित गर्ने ब्यानर “एक्सप्लोर नेपाल” सोमबार देखि यहाँका बसहरुमा देख्न थालिएको छ । यो ब्यानर बोकेका ५० बसहरु डब्लिनको मुख्य सडकहरुमा २ हप्ता सम्म गुड्ने छन् । नेपाली राजदुतावास ,लण्डन र नेपाल आएरल्याण्ड समाजको संयुक्त प्रयासमा यो कार्यक्रम गरिएको हो ।
यस अभियानको लागि अनुमानित ४ हजार यूरो खर्च गरिएको छ । 'हामीले यस्ता किसिमका प्रचार संयुक्त अधिराज्यका विभिन्न स्थानहरुमा गरिसकेका छौं र आएरल्याण्डमा पनि सुरु भयो, संयुक्त अधिराज्य र आएरल्याण्डका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले भने, हामीले निकै नै उत्साहप्रद प्रतिक्रिया पाएका छौं र पक्कै पनि यस्तो अभियानले नेपालमा बढि पर्यटक भित्राउन सहयोग पुर्याउने छ ।
उनका अनुसार संयुक्त अधिराज्य र आएरल्याण्डबाट नेपाल जाने पर्यटकको उल्लेख्य मात्रामा वृद्धि हुनेछ । वर्षेनी आएरल्याण्डबाट सयौंको संख्यामा आइरिस पर्यटकहरु नेपाल घुम्न आउने गर्दछन्, नेपाल आएरल्याण्ड समाजका अध्यक्ष दिपेश मान शाक्यले भने । उनले भने, यो अभियानले नेपाल घुम्न जाने आईरिस पर्यटकको संख्यामा पक्कै पनि ईटा थप्ने काम गर्दछ ।

आएरल्याण्डबाट विशेष गरी स्वयं सेवक, पद यात्रा र हिमाल आरोहणको लागि पर्यटकहरु नेपाल जाने गर्दछन् । आएरल्याण्डमा रहेका केहि गैर सरकारी संस्थाहरुले सक्रिय रुपमा नेपालका विभिन्न दुर्गम क्षेत्रहरुमा काम गर्दै आएका छन् र यिनीहरुले पनि नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । समाजका महासचिव गंगाराम कँडेल पनि यहाँका सम्पुर्ण नेपालीहरुबाट यो अभियानमा पाएको सहयोगले प्रफुल्लित छन् । हामीले अहिले यहाँका नेपालीहरु बाट पाएको सहयोगले भविष्यमा पनि यस्तै अरु कार्यहरु गर्न प्रेरणा दिएको छ, उनले भने,  अब डब्लिन मात्र हैन हामी आएरल्याण्डका अरु प्रमुख सहरहरुमा पनि यो अभियानलाई विस्तारै लैजाउछौं।
स्मरणिय रहोस् गत वर्ष पनि नेपाली राजदुतावास ,लण्डन , नेपाल पर्यटन बोर्ड र नेपाल आएरल्याण्ड समाजको संयुक्त प्रयासमा डब्लिनमा “नेपाल पर्यटन वर्ष २०११”को सफलताको लागि भव्य कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन डब्लिनका लर्ड मेयरले गरेका थिए । सोही कार्यक्रममा सगरमाथा सफलता पूर्ण आरोहण गर्ने आईरिसहरुलाई सम्मान पनि गरिएको थियो । सोमबारबाट बसमा विज्ञापन देखिन सुरु भए पनि यसको विधिवत उद्घाटन भने आउँदो बुधबार डब्लिन बसको मुख्यालय डनिबु्रकमा बिहान साढे दश बजे हुदैछ । आएरल्याण्डमा बस्ने नेपालीहरुले आफु जहाँ रहे पनि , आफ्नो अस्तित्व , संस्कृति र देश प्रेम कहिले पनि मेटिदैन भन्ने कुराको प्रमाण देश प्रचारको अभियानमा ऐक्यबद्धता देखाएर प्रमाणित गरेका छन् ।

Tata
GBIME
NLIC