विराटनगर। विराटनगरको डिग्री क्याम्पसबाट २०४७ सालमा मास्टर्स सकेपछि नविन रिजालले सुरुमा आफ्नै बिजनेश खोले। घरायसी वातावरणका कारण उनलाई व्यवसाय थाल्न कुनै कठिनाइ भएन। पुराना प्लास्टिक सङ्कलन गरि दाना बनाउने उद्योग खोले। प्लास्टिक उधारो ल्यायो, दाना बनायो, बेच्यो। सानो लगानीमा एउटा मेसिन किनेका थिए, २४ घण्टा नै चल्थ्यो।
ड्रमको ग्रिज किनेर त्यसलाई बट्टामा प्याक गरेर पनि बेच्न थाले उनले। बिजनेश राम्रै चलेको थियो। तर, रिजालको भित्री मन खुसी थिएन। 'यत्रो डिग्री गरिएको छ, कति २४ घण्टा तनाव लिएर ब्यापार भन्दै हिँड्नु' उनको मनमा लाग्न थाल्यो- 'अब जागिर खोज्नु पर्यो, आठ घण्टा ड्युटी गर्यो अरु समय त आफ्नै हो।'
रिजाल काम खोज्न काठमाडौं हानिए। जागिर खोजिमा छ महिना काठमाडौंमा गल्ली गल्ली चाहारे। कुनै एनजिओ, आइएनजी या ख्यातिप्राप्त निजी कम्पनीमा काम गर्ने उनको धोको थियो। तर, अंह पुरा भएन।
लखतरान भएपछि फेरि पुराना दिन सम्झिए। त्यही दाना उद्योग र ग्रिज प्याक गर्ने काम नै पो उनलाई प्यारो लाग्न थाल्यो। आफैँसँग अठोट गरे- 'अब जागिर खोजेर भौतारिन्न। घर (बिराटनगर) फर्केर फेरि आफ्नै व्यवसाय गर्छु र बेरोजगार भएर हिँड्ने म जस्ता अरुलाई पो काम दिन्छु।'
***
हजुरबा सरस्वतीप्रसाद रिजाल आफैँ एक सफल उद्यमी थिए। इटहरीमा धानचामल उद्योग, तेल कारखाना, काठ मिल र पेट्रोलपम्पको सञ्चालन गरेका थिए। खनारमा इटाभट्टा र विराटनगरमा प्लास्टिकका जर्किन बनाउने उद्योग समेत थियो।
बहुदल आएपछि हजुरबुबाले छ जना बुबाहरुलाई एक/एक वटा उद्योग अंश दिएको रिजाल सम्झन्छन्। उनका बुबा विनयका भागमा प्लास्टिक उद्योग पर्यो।
उनको परिवार व्यापार मात्र होइन, राजनीतिमा पनि संलग्न थियो। २०३६ सालको जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा गरि उनका बुबा दुई बर्ष जेल परे। तर, परिवारको बिजनेश रोकिएन।
आफुलाई ११–१२ वर्षको छँदै हजुरबाले मलाई बाँकी उठाउन, बैङ्कमा रकम जम्मा गर्न, बिल पुर्याउन पठाउने गरेको रिजाल सुनाउँछन्। पढाइ छुट्टी हुने वित्तिकै उनीहरु इटहरी पुग्थे र हजुरबुबासँग धान र तेल मिलमा काम सिक्थे।
***
२०५० सालमा काठमाडौंबाट रित्तोहात विराटनगर फर्किँदा बुबाले हजुरबुबाबाट अंश पाएको जर्किन उद्योग चालु थियो। उनीहरुको उद्योगले २० लिटरसम्मका जर्किन उत्पादन गर्थ्यो। रिजालको मनमा नयाँ केही गर्ने हुटहुटी बढ्न थाल्यो। प्लाष्टिक उद्योगमै अनुभव र पहिचान भएको कारण ट्याङ्की बनाउने कुराले दिमागमा क्लिक गर्यो।
घरबाट पनि स्वीकृति पाए। २५ बर्षमा हिँड्दै गरेका रिजालले ट्याङ्कीको 'ब्राण्डनेम' जुराए- ‘पोलिट्याङ्क’। छ महिनाको लागि भारतबाट उधारोमा मेसिन ल्याएर इटहरीमा कारखाना खोले। पहिलो चरणमा एक हजार लिटरको ट्याङ्कीबाट उत्पादन सुरु भयो। '३/४ वर्षमै १० हजार लिटरसम्मका ट्याङ्की उत्पादन गर्न थाल्यौँ' उनी सुनाउँछन्।
रिजालले सुरुमा बजार लिन भने निकै पापड पेल्नु पर्यो। त्यसबेला अर्को छुट्टै कम्पनीका ट्याङ्कीको दबदबा थियो। पसलेहरु समेत सुरुमा त ‘पोलिट्याङ्क’ बेच्न हिच्किचाए। मार्केटिङ सिलसिलामा आफुलाई कतिपय ठाउँमा चिया समेत नदिएर अपमान गरेको उनी सुनाउँछन्। 'कतिसम्म अपमान भोगियो भने कुनै हार्डवेयर पसलमा अरु ४ जना र म छौँ भने मलाइ चिया अफर पनि नगरि उनीहरु खाएर बस्थे, उनले आफ्नो संघर्षको कथा सुनाए।
***
निरन्तर संघर्षपछि उनले ‘पोलिट्याङ्क’लाई एउटा उचाइमा पुर्याएका थिए। छुट्टै अर्को ब्रान्डमा पनि उत्पादन गर्ने विचार आयो। 'मलाई मारवाडी समुदायका व्यवसायीले आफ्नो थरमा ‘वाला’ लगाएर बनाएका शब्द निकै मन पर्थे, जस्तै– झुनझुनवाला, कागलीवाला, टिवडेवाला, उनले भने।
उनले आफ्नै थरसँग कुनै ठेट नेपाली अक्षर जोड्ने बिचार गरे। र, नयाँ ब्राण्डको नाम राखे- ‘रिजालको’। २०५५ सालमा रिजालको ब्राण्डमा उत्पादन सुरु भयो। पोलिट्याङ्क ब्रान्ड अहिलेसम्म उत्पादन हुन्छ। तर, चर्चा र बिक्री दुबै रिजालको नै बढि रहेको उनी सुनाउँछन्।
‘रिजालको’ ट्याङ्की लिएर हामी बजारमा पहिलो पटक जाँदा विक्रीका आधारमा छैठौँ भएको थियो। त्यसपछिका दुई बर्ष लगातार तेस्रो भयो। फेरि पाचौँमा पनि झर्यो। तेस्रो, चौथो र पाचौँको श्रृङ्खला लामो समय चल्यो। पछिल्ला ५/६ वर्ष यता भने आफुहरु पहिलो नम्बरमा रहेको रिजाल सुनाउँछन्।
मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ब्राण्ड एम्बेसेडर नियुक्ति गरेपछि रिजालकोको बजार र विश्वास दुबै बढेको उनले सुनाए।
समयसापेक्ष प्रविधिको प्रयोग र लागत व्यवस्थापनले गुणस्तरीय वस्तु उत्पादन गर्न कठिन नहुने उनको अनुभव छ। यीनै दुई प्रयोगले उपभोक्तालाई सन्तुष्ट पार्न सफल भएको उनी बताउँछन्। बजार, उत्पादन र कच्चा सामग्रीको व्यवस्थापनमा २४ घण्टा नै निगरानी पुर्याइ रहेको उनको भनाइ छ।
***
ट्याङ्कीमा सफलता पाइ सकेपछि रिजालले पानी जमिन मुनीको तान्ने ह्यान्ड पम्प, प्लास्टिक पाइप र प्लास्टिक सिट पनि उत्पादन सुरु गरे। २०५५ साल तिर खोलिएका ती उद्योग चल्न सकेनन्। भर्खर सुरु भएको भ्याट प्रणालीको झन्जट, लोडसेडिङ र श्रमिक समस्याका कारण तीनवटै उद्योग बन्द गर्नु परेको उनी बताउँछन्।
अहिले रिजाललाई धेरैले स्टिल ट्याङ्की उत्पादनको सुझाव दिइ रहेका छन्। तर, नेपालको पानीमा धेरै आर्सेनिक रहेको कारण प्लाष्टिक ट्याङ्कीलाई निरन्तरता दिने निचोडमा उनी पुगेका छन्। 'अहिले नेपालमा प्रयोग गरिने पानीमा फलामको मात्रा धेरै छ, उनले भने- त्यसले स्टिलको ट्याङ्कीमा बढी फोहोर देखिन्छ र ट्याङ्कीको आयु पनि घट्छ।' विकसित देशमा बाथरुमको पानी समेत पिउन योग्य बनाइने हुँदा त्यहाँ भने स्टिलको ट्याङ्की चल्ने उनको भनाइ छ।
२०६८ देखि ‘रिजालको’ ब्रान्डमै एलपी ग्यास समेत उत्पादन गर्दै आएका छन् उनले। यस्तै २०७२ देखि सिपिभिसी पाइप समेत उत्पादन गर्न थालेका छन्।
नेपालमा व्यवसायीका लागि मुख्य समस्या भनेकै बाँकी नउठ्नु रहेको उनी बताउँछन्। 'कस्तो मुलुक छ भने यहाँ रक्सी नगदमा बिक्छ तर औषधीको भुक्तानी लिन छ महिना कुर्नु पर्छ, उनले भने। आफुहरुले ग्यास बाहेक सबैथोक उधारोमा दिनु पर्ने उनी बताउँछन्। ट्याङ्कीको भुक्तानी आउन छ महिनासम्म पर्खनुपर्छ भने सिपिभिसी पाइपको पनि चार महिना अघि हात लाग्दैन।