काठमाडौं। भूमिसुधार मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाईन प्रणालीमा लैजान सुरु गरेको छ।
दुई वर्ष अघि काठमाडौंको कलंकी मालपोत कार्यालयबाट सुरु गरिएको अनलाईन प्रणाली अहिले उपत्यका भित्र बाहिर गरि १९ वटा मालपोत कार्यालयमा सुरु भैसकेको छ।
कामलाई छिटो छरितो र प्रभावकारी बनाउन सुरु गरिएको अनलाईन प्रणाली पूर्णरुपमा भने सुरु गरिएको छैन। अनलाईन प्रणालीमा जग्गा पास गरेपनि अफलाईन रेकर्ड पनि राख्ने गरिएको छ।
"अनलाईन सँगै अफलाईन पनि रेकर्ड राख्ने गरेका छौं।" मालपोत कार्यालय डिल्लीबजारका प्रमुख पद्दनिधि सोतीले भने, "सबै जग्गाहरु कम्तिमा एक पटक अनलाईन प्रणालीमा आईसकेपछि पूर्णरुपमा अनलाईन कारोबार सुरु गर्छौ।"
अनलाईन प्रणालीको बारेमा भ्रमहरु फैलाईएको भन्दै सोतीले भने, "अफलाईनमा कीर्ते गरेर अरुको जग्गा पनि पास गर्न सक्छन्, तर अनलाईन प्रणालीमा आईसकेपछि औँठा छाप लगाउने बित्तिकै जग्गा धनी हो या होईन भन्ने सुरुमै पत्ता लाग्छ। त्यसैले कसैले पनि कीर्ते गर्ने कुरा सम्भवनै छैन।"
सोती भन्छन्, "जग्गाको सुरक्षा गर्न चुनौती छ भने अनलाईन सिस्टममा राखेर जानुस्। तपाईंको जग्गा बाढी पहिरोले बगाउनु अर्कै कुरा हो, मानिसले कुनै पनि हालतमा जालझेल गरेर हत्याउन सक्दैन।"
जग्गाको किनबेच नगरेपनि अनलाईन सेवा सुरु भएका ठाउँमा आफ्नो जग्गालाई अनलाईन सिस्टममा राख्यो भने सँधैकालागि सुरक्षित हुने उनको दावी छ।
के के गर्नुपर्छ अनलाईन जग्गा पास गर्न?
अनलाईन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्थाले तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) भने लेख्नैपर्छ। पूर्णरुपमा अनलाईनमा गईयो भने तमसुक लेख्ने झञ्झट पनि सकिन्छ।
तमसुक लेखिसकेपछि त्यसैको आधारमा अनलाईन प्रणालीमा दर्ता गरिन्छ। आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाईनमा ईन्ट्री गर्छन्। त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन्। मालपोत अधिकृत पछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन्।
त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ। विद्युतीय औँठाछाप पनि लिईन्छ। औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ।
एकपटक अनलाईनमा रखिएको डाटा अर्को पटक किनबेच गर्दा झनै छिटो हुन्छ। अहिलेको अनलाईन प्रणालीको अफलाईन रेकर्ड पनि राख्ने हुँदा दुई तीन घण्टासम्म समय लाग्छ। अनलाईनमा रखिएको डाटा अर्कोपटक किनबेच गर्दा भने एक घण्टा पनि समय नलाग्ने सोती बताउँछन्।
अनलाईन प्रणालीमा काम गर्दा जनशक्ति पनि थोरै चाहिने र काम पनि धेरै छिटो हुन्छ। जग्गामा मोही लागेको छ की, हदबन्दी छ की सबै कुरा कम्प्युटरमा हात राख्ने बित्तिकै थाहा पाईन्छ। कसको जग्गा कति छ भन्ने पनि एक क्लिकमा थाहा पाईन्छ।
गलत डाटा ईन्ट्री भयो भने के गर्ने?
कम्प्युटर अपरेटर, मालपोत अधिकृत र प्रमुख मालपोत अधिकृतले पनि चेक गरिसकेको डाटा त्यति सजिलै गलत हुँदैन। नागरिकतानै गलत छ भने अर्कै कुरा हो।
नागरिकतामा भएको नाम थर उस्तै लागेपनि कुनै शब्दमा गल्ती भयो भने तीनै तहका अधिकारीहरु बसेर सच्याईदिन्छन्।
तर नगरिकता नै गलत रहेछ भने त नागरिकतानै सच्याउनुपर्छ। त्यसकालागि नागरिकता बनाउने तहबाटै सच्याएर आउनुपर्छ। नागरिकतामा नामथर बिग्रेपनि नागरिकता नम्बर भने गलत हुँदैन। कुनै कुरा गम्भीर गल्ति भएको रहेछ भने विभागबाटै सच्याउनु पर्छ।
नागरिकता र तमसुकमा भएको विवरण ठिक छ/छैन भन्ने कुरा जग्गाधनीले पहिल्यै ध्यान दियो भने अनलाईन प्रणालीमा समस्या नहुने सोती बताउँछन्।
चितवनका सबै मालपोत कार्यालयमा अनलाईन सेवा
चितवनमा रहेका चारवटै मालपोत कार्यालयमा अनलाईन प्रणाली सुरु भएको छ। चितवन जिल्लाका चितवन, माडी, खैरेनी र चनौलीका सबै मालपोत कार्यालयमा अनलाईन सेवा सुरु भएको हो।
सरकारले देशभरका सबै मालपोत कार्यालयलाई अनलाईन प्रणालीमा लैजाने योजना अघि सारेको छ। सबै मालपोत कार्यालयमा तत्काल यो सेवा सम्भव नभएपनि कालान्तरमा सबै कार्यालयमा सेवा पुग्ने बताइएको छ।
अनलार्इन प्रणाालीमा गएका मालपोत कार्यालयहरु:
क्र स | मालपोत कार्यालय |
१ | कलंकी |
२ | चावहिल |
३ | डिल्लीबजार |
४ | ललितपुर |
५ | भक्तपुर |
६ | मोरङ |
७ | चन्द्रगढी (झापा) |
८ | वीरगंज (पर्सा) |
९ | हेटौडा (मकवानपुर) |
१० | चितवन |
११ | धादिङ |
१२ | काभ्रेपलाञ्चोक |
१३ | पोखरा (कास्की) |
१४ | बागलुङ |
१५ | बाँके |
१६ | माणी (चितवन) |
१७ | खैरेनी (चितवन) |
१८ | चनौली (चितवन) |
१९ | शिखरकोट (मकवानपुर) |