काठमाडौं। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बैकहरुको नाफा बृद्धि दर घटेको मात्र छैन, कतिपयको पोहोरको भन्दा पनि कम छ। सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमध्ये १७ वटाले आइतबारसम्म असोज मसान्तसम्मको विवरण सार्वजनिक गरेका छन्, जसमध्ये सबैको नाफा ओरालो लागेको छ।
नाफा घट्नेमा सनराइज, बैंक अफ काठमाण्डू (बिओके), ग्लोबल आइएमइ, सिद्धार्थ, हिमालयन, सिटिजन्स र मेगा बैंक छन्। विवरण सार्वजनिक गरेकाहरु मध्ये अधिकांसको नाफा बृद्धि दर पोहोरको जति पनि छैन। एकाध बैकको मात्र पोहोरको भन्दा बृद्धि दर बढि छ।
बैंकको नाफा बृद्धि दर किन झर्यो? बिजमाण्डूको प्रश्नमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको उत्तर:
ब्याज दर बढेका कारण बैंकहरुको खर्चमा बृद्धि भएको छ। तर बिजिनेस गर्नु पर्ने भएकाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड रेट) घटिरहेको छ। आधार दर (बेस रेट) भन्दा पनि तल गएर ऋण लगानी भइरहेकाले नाफा झरेको हो।
ऋण लगानीका लागि ब्याजका बारेमा अहिले बैंकहरुबीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ। प्रतिस्पर्धाकै कारण आधार दरभन्दा तल गएर बैंकहरुले ऋण लगानी गरिरहेका छन्। यसले गर्दा बाँकी बैंकलाई पनि ब्याज दर घटाउन दबाब परेको छ।
राष्ट्र बैंकले आधार दरसम्बन्धि नीतिमा खर्च बढ्दा ब्याज बढाउ, घट्दा ब्याज घटाउ भनेको। यो एकदमै राम्रो नीति छ। तर अहिले बैंकिङ क्षेत्रमा आधारदर बढिरहेको छ, तर ब्याजदर घटिरहेको छ। यो परस्पर विरोधी थ्यौरीले काम गर्दा आम्दानी घटेको छ।
अब हामीले आफूलाई संयमित बनाउन आवश्यक छ। अब सबै बैंक मिलेर नीतिगत सुधारका लागि राष्ट्र बेंकसँग आग्रह गर्नुपर्छ। बैकहरु इमान्दार भएर नीतिहरुलाई पालना गर्नु पर्छ। हैन भने कात्तिक महिना झन् अप्ठेरो हुन्छ। राष्ट्र बैंकले आधार दरभन्दा तल गएर ऋण दिन नपाउने गरेको ब्यवस्थालाई बैंकहरुले पालना गर्नु पर्छ। राष्ट्र बैकले पनि यो नीति पालना नगर्नेलाई कारवाही गर्नुपर्छ।
मेरो बैंकिङ करियरमा अहिलेको जस्तो अवस्था कहिले देखेको थिइँन। एउटा/दुइटा बैंकको नाफा घटे पनि अधिकांसको नाफा बृद्धि दर यसरी कहिले झरेको थिएन।
अब बैंकहरु आपसमा बसेर आधारदरको बारेमा प्रष्ट हुन आवश्यक छ। हामी स्पष्ट नभए कात्तिक महिना अझ गोलमाल हुने छ। असोज मसान्तपछि स्प्रेड रेट अझ घटेको छ। आधार दरभन्दा तल जाँदा स्प्रेड दर घटेको हो। ऋण बढ्दा पनि आम्दानी घट्नुको कारण नै यही हो। आधार दरसम्म दिँदा पनि अलिअली कमाइ हुन्छ। तर त्योभन्दा तल गयो भने त आम्दानी घट्ने नै हो। अहिले त्यही भइरहेको छ।
(दाहालले गत बर्ष बिजमाण्डुलाई दिएको अन्तर्वार्तामा अहिलेको अवस्था श्रृजना हुने विश्लेषण गरेका थिए। हेर्नुस् अन्तर्वार्ता: सम्पत्ति, दायित्वको व्यवस्थापनमा चुक्दा बैंकमा सिस्टेमिक जोखिम आयो)