BIZMANDU
www.bizmandu.com

अर्बपति चौधरी कांग्रेस प्रवेश, समानुपातिक सूचीबाट सांसद उम्मेद्वार, ओलीका कारण एमालेबाट टाढा

२०७४ कात्तिक १३

काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएको कांग्रेसको संसदीय बोर्डका एक सदस्यले पुष्टि गरे।

Vigo
GBIME
Tata

चौधरी एक दशकपछि राजनीतिमा फर्किएका हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई  समानुपातिक सभासद बनाएको थियो। २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी भने दिएनन्। 



 
एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी ओली पावरमा आएसँगै ‘कर्नरिङ’मा परेका थिए। ओलीले उपेक्षा गरेपछि उनी एमालेबाट क्रमशः टाढा हुँदै गएका थिए। एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरु पनि सुरु देखिनै निकट सम्बन्ध थियो। 
 
अहिले चौधरीलाई आफ्नो दलमा ल्याउने कांग्रेस महामन्त्री सशांक कोइराला एवं भारतका लागि पुर्व राजदुत दीपकुमार उपाध्यायले विशेष पहल गरेका थिए। कोइरालाको निर्वाचन क्षेत्र (नवलपुर १) मा चौधरीको उद्योग ग्राम रहेको छ। कोइराला सहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाँड लगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको स्रोतले जानकारी दियो। 
 
चौधरी आफ्नो दलमा प्रवेश गरेको बारे कांग्रेसले सोमबार दिउँसो विज्ञप्ती जारी गर्ने स्रोतले बताएको छ। 
 
चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुन्। फोर्ब्सका अनुसार उनको अहिलेको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर (एक खर्ब ३५ अर्ब रुपैयाँ हाराहारी) रहेको छ। टाटा समूहको सहकार्यमा उनले एसिया, अमेरिका, अफ्रिका लगायत बिभिन्न मुलुकमा होटल सञ्जाल विस्तार गरेका छन्। त्यस बाहेक वाइवाइ चाउचाउलाई पनि विश्वभर फैलाउने मिसन लिएका छन्। भारतका बिभिन्न राज्यमा वाइवाइको उद्योग स्थापना गरि सकेका चौधरीले केही समय अघि युरोपमा समेत प्लान्ट लगाएका छन्।