BIZMANDU
www.bizmandu.com

व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो


व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो
व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो


Tata
GBIME
NLIC

पहिलो संविधानसभा अप्रत्याशित रुपमा अन्तिम समयमा विघटन नभएको भए राजेन्द्र खेतानको जीवन आज अर्कै हुन सक्थ्यो। सायद कुनै राजनीतिक दलको सकृय नेताको रुपमा आसन्न चुनावका लागि जनतामाझ उनी भोट मागिरहेका हुन सक्थे या कुनै नयाँ व्यावसायिक 'भेञ्चर'का लागि रणनीतिक योजना बुनिरहेका हुन सक्थे ।  


 

पहिलो संविधानसभाको असफलताले खेतानको जीवनमा यूटर्न भयो।हरेक राजनीतिक कार्यक्रम र व्यावसायिक कार्यक्रम नछुटाउने खेतान एकाएक हराए।ती सबै कार्यक्रममा उनी देखिन छाडे।संविधानसभा विघटन हुनुभन्दा अघि उनी हरेक फोरममा अग्रपंक्तिमा बसेर आफ्ना धारणा राख्ने खेतान कता हराए?


 

'संविधानसभामा ९० प्रतिशत हाराहारी उपस्थित भएर जुन मेहनत गरियो अन्त्यमा त्यसबाट ठोस नतिजा आएन, उनी सुनाउँछन्- अनि जति दगुरे पनि यस्तै रहेछ भन्ने लाग्न थाल्यो र सबै क्षेत्रमा ब्याक सिट रोजेँ।'
 
सार्वजनिक समारोहमा कम जाने, भेटघाट र पार्टीहरु पनि खासै रुची नदेखाउने, व्यवसायमा पनि आफैं मरिहत्ते गरेर दगुर्ने भन्दा 'प्रोफेसनल'लाई जिम्मा लगाउने। हरेक दिन उनको  दैनिकी बदलिन थाल्यो।
 
खेतानकै परिभाषामा उनी 'फ्रन्ट सिटबाट ब्याक सिट'मा सरेका हुन्।


 

बिहान ११ बजे हात्तिसार स्थित लक्ष्मी कम्प्लेसको पुरानो ब्लकको पाचौँ तलामा रहेको कार्यालय पुग्ने र दैनिक व्यवसायीक हिसाब किताव हेर्ने आदत उनले विस्तारै कम गर्न थाले। केही समयमा आफ्नो कार्यालय नै बदले। 


 

ल्यापटप, टेलिफोन र बिजनेशका अनेक फाइलहरुले भरिएको टेबल र कुर्सी जस्ताको तस्तै छोडेर खेतान माथिल्लो तलामा उक्लिए, जहाँ उनले साथीभाइसँग जमघट, रमाइलो गर्न भनेर एउटा कोठा छुट्याएका थिए। 


 

खेतानको कार्यालयमा बिताउने समयमा त कमी आयो नै जतिबेला पुग्थे त्यो बेला पनि साविक कार्यालय नबसी माथिल्लो तलामै समय बिताउन थाले। दैनिक आदेश एवं कार्ययोजना सोध्न आउने कर्मचारीलाई आफुले नीति बनाउने र त्यही अनुरुप काम गरेर ७/१० दिनमा रिपोर्टिङ गर्न सुझाए।
 

 
विस्तारै खेतान एक यात्रुमा बदलिए। दैनिक भीडभाड युक्त जीवनबाट शान्तिको बाटो रोजेपछि आफ्नालागि समय उपलब्ध हुन थाल्यो। उनको भित्री मनले उनीभित्रको खुवीलाई बिस्तारै बाहिर निकाल्यो। उनी हरक्षण विजनेशको अंक गणित होइन जीवनको आनन्दको हिसाव गर्न लागे। 


 

तपार्इले व्यावसायिक जीवनबाट मोक्ष प्राप्त गर्नुभएको हो? ‘मोक्ष होइन व्यावसायिक जीवनलार्इ शान्तितिर मोडेको मात्रै हो। मैले अहिले जे गरिररहेको छु त्यसबाट मलार्इ सन्तुष्टी छ, उनी भन्छन्- मैले जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टी नै हो र अहिले सन्तुष्टीमा धेरै ठूलो नेट प्रफिट गरेको छु।’

व्यावसायिक जीवनमा होमिएर कर्पोरेट गेमप्लानमा लाग्नेहरुका लागि खेतानको यो विचार अध्यात्मतर्फ ढल्केजस्तो लाग्न सक्छ।  तर उनी आफुभित्र आएको परिवर्तनलार्इ अध्यात्मसँग जोड्न चाहँदैनन्। ‘म अध्यात्मतर्फ लागेको होइन मैले जीवन मात्रै बुझेको हो, खेतान भन्छन्- जीवन बुझ्नु र अध्यात्म फरक विषय हुन्।’


 

उनी जीवन रफ्तारको पूरानो गतिलार्इ परिवर्तन गरेर नयाँ गतिमा लगेको मात्रै बताउँछन्। त्यसो भए कुनै समय व्यवसाय र राजनीतिको कर्पोरेट आइकन बनेका खेतानको पुनर्जन्म भएको हो? ‘मेरो पुनर्जन्म भन्दा हुन्छ। मैले व्यावसायिक जीवनलार्इ परिवर्तन गरेको छु। 

जानेर नजानेर १०/१२ बर्षकै उमेर देखि विजनेशमा आवद्ध भइयो,  उनी सुनाउँछन्- उमेरले ४० पुगेपछि अब सधैं यही रफ्तारमा भिडेर कहाँ पुग्ने हो र भन्ने लाग्न थाल्यो' उनले भने। स्वतन्त्र समय विताउन थाले पछि खेतानको विदेश यात्रा पनि बढ्न थाल्यो। उनी जहाँ पुग्थे त्यहाँ कुनै विजनेश प्रोजेक्ट या प्रोडक्टमा आँखा जान कम भयो। उनी त त्यहाँका कुनै युनिक आइकन, तस्विर, पेन्डिङ या डिजाइनमा पो अडिन थाले। 


 

बुबा मोहनगोपाल खेतानको पनि रुची यस्तै थियो। मदिरा नपिउने मोहन गोपाल विश्वका जुन मुलुक पुगे पनि त्यहाँको खास ‘लिकर’ संकलन गरेर ल्याउँथे। बुबाको त्यो गुण आफुभित्र पनि रहेको राजेन्द्रले विस्तारै महसुश गरे। तर, छोराको रुची भने लिकर भन्दा पनि ऐतिहासिक बस्तु र तस्विरमा थियो।


 

कुनै म्युजियम या मन्दिर घुम्न भनेर भयो, साथमा गएका व्यक्ति भित्रै तस्विर लिन, दोहोर्याएर हेर्न थाल्छन्। खेतान भने एकसर्को नजर डुलाइ सकेपछि नजिकैको पसलमा पुग्छन्। भित्र संग्रहालय/मन्दिरमा देखिएका कुनै मन छुने वस्तु पाएसम्म सक्कल नभए प्रतिलिपी किन्छन् र लिएर आउँछन्। यसरी अहिले खेतानको शौख नै अर्कै बन्न पुगेको छ, जुन उनको नाम सुन्ने वित्तिकै हरकोहीको मानसपटलमा घुम्ने राजेन्द्र खेतान भन्दा विल्कुल फरक छ। 


 

खेतानले आफ्नो अहिलेको कार्यकक्षको वरिपरी तिनै आइकनिक वस्तु एवं तस्विरहरु राखेका छन्। विश्वकै कुनै पनि 'युनिक आइकन' नछुट्याउने आफ्नो प्रयत्न रहेको उनको भनाइ छ। कतिपय आइकनलाई उनले थप आकर्षक बनाउन 'रि-डिजाइन' पनि गरेका छन्। विश्वभरबाट युनिक आइकन मात्र सँगालेर ल्याएका छैनन्, आफ्नै परिवारको इतिहासमा पनि त्यहीँ भित्र अटाएका छन्। एक किसिमले खेतानले आफ्नो अहिलेको कार्यकक्षलाई 'मिनी म्युजियम' नै बनाएका छन्।


 

हजुरबुवाका पालाको रेडियोदेखि घरमा चलाइएको पुरानो तराजुसम्म अहिले उनको कार्यकक्षको शोभा बनेका छन्। जहाँ उनी दैनिक १२ बजेपछि पुग्छन्, व्यावसायिक सर-सल्लाह केही गर्नै पर्ने भए गर्छन्। नत्र केही साथीभाइलाई भेट्छन् र साँझ ५-६ बजे निस्किसक्छन्। त्यसपछि उनको गन्तव्य दायाँ बायाँ हुँदैन, सिधै सानेपास्थिर घर पुग्छन्, जहाँ उनकी १० बर्षकी कान्छी छोरी बाबाको प्रतिक्षामा हुन्छिन्। 


 

ठूली छोरी बेलायतको विश्वविद्यालयमा अध्ययनरत छिन्। बेलाबेला छोरी भेट्न उतै पुगिरहेका हुन्छन् उनी। उनको पनि रुची बिजनेशनमाभन्दा धेरै प्राज्ञिक क्षेत्रमै छ। सानी त सानी नै भइहालिन्। यस कारण पनि खेतानलाई पारिवारिक वातावरण नै व्यवसायभन्दा प्रिय लाग्न थाल्यो । 
 
अहिले खेतानको ‘मिनी म्युीजियम’मा बिभिन्न मुलुकका ६५० भन्दाबढी ‘आइकन’ छन्। जेरुसेलमको ओरिजिनल ढुङ्गादेखि, भुटानको धनुषबाण, मौरिससको पहिचान झल्कने डुङ्गा, राजस्थानको उँटको प्रतिमासम्म उनको कार्यकक्षको भित्ता र ‘र्याक’हरुमा सजिएका छन्। रविन्द्रनाथ टेगोर देखि माइकल ज्याक्सनसम्मका ‘पेन्टेड’ तस्विर खेतानको संग्रहमा छन्। 


 

अहिले त साथीभाइले कतैबाट उनलाई उपहार ल्याइदिनु पर्यो भने पनि यस्तै आइकन रोज्ने गरेका छन्। यस क्रममा एकजना साथीले मेक्सिकोबाट ल्याइदिएको मण्डला नेपाली आकृतिसँग समेत हुबहु मिल्दो देखिन्छ। मध्यपूर्वको कार्पेट होस् या मरुभूमीमा हिँड्दा पानी नतातोस् भनेर बोकिने छालाको तुम्लेट, सबै खेतानको कार्यकक्षको आकर्षण बनेका छन्।
 
नेपालकै पनि कतिपय पुराना चिन्ह एवं भाँडाकुँडालाई उनले रंङ् रोगन गरेर आकर्षक बनावट आफ्नो सजाएका छन्। कसैले काम नलाग्ने भनेर फ्याँकेको वस्तुमा आफुले आकर्षण देख्ने खेतान बताउँछन्। 


 

युवा उमेर देखि नै जुझारु भएर व्यवसायमा लागेका खेतानको पछिल्लो आदत उनी विस्तारै सन्यास तिर उन्मुख भएको संकेत हो?
 
‘अवश्य होइन, उनी जवाफ दिन्छन्- हिजोको अर्थ सामाजिक सोचबाट क्रमशः पारिवारिक समाजतर्फ ढल्किएको चाहिँ हो, हिजो कुनै साथीसँग बिजनेश र नाफा/घाटाको कोणबाट पनि मित्रता हुन्थ्यो, अहिलेको मित्रतामा कुनै स्वार्थ जोडिँदैन। ’