BIZMANDU
www.bizmandu.com

मकैखेती छाडेर तरकारी बाली लाउन थालेपछि आम्दानी ८ लाख रुपैयाँसम्म पुग्यो, २ करोडको निर्यात

२०७४ असोज ३०

पाल्पा। परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ। 
 
मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो। पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आव २०७३/७४ मा दुई करोड रुपैयाँको तरकारी जिल्ला बाहिर निर्यात भएको छ। मदनपोखराको तरकारी स्याङ्जा, कास्की, रुपन्देहीसम्म निर्यात हुँदै आएपछि किसान खुशी छन्।
 
परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रमा करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो। व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले डेढ लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी लिन सफल भएको किसान बताउँछन्।
 
मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज पौडेलले तरकारीको बीउ, प्राविधिक सहयोग, ऋण र तरकारीको बजार व्यवस्थापन गर्न थालेपछि तरकारी उत्पादन गर्नेको संख्या वर्षेनी बढेको हो। 
 
तानसेन नगरपालिकाको मदनपोखरा क्षेत्रबाट ठूलो मात्रामा तरकारी उत्पादन हुँदै आएपछि अहिले तानसेन नगरपालिकाको वडा नं ६, ७ र ९ का स्थानीय बासिन्दासमेत व्यावसायिक तरकारीखेतीप्रति आकर्षित हुन थालेका छन्। 
 
परम्परागत मकैखेती छाडेर व्यावसायिक रुपमा बन्दा गोपी, गोलभेँडा, खुर्सानी, मुला र भान्टाखेती गर्न थाले पछि कृषक राम्रो आम्दानी लिन सफल छन्।

Tata
GBIME
Nepal Life