BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको हकप्रद लिलामीमा बिक्री नभएर फेरी बोलकबोल, किन बिक्री हुँदैनन् ब्लूचिप शेयर?

२०७४ असोज २७

  • एभरेस्ट बैंकले नबिकेको दुई लाख ५३ हजार ७९७ कित्ता हकप्रद शेयर भदौ २५ मा लिलामीमा राख्यो। पहिलो बोलकबोलमा प्रर्याप्त आवेदन परेनन्। दोस्रो पटक ३५ हजार ८ सय ४१ कित्ता बिक्रीका लागि एक साताअघि बोलकबोलमा राख्यो।
 
  • कामना सेवा विकास बैंकले पनि पहिलो पटक हकप्रद शेयर बिक्री भएन। बैंकले दोस्रो पटक बोलकबोलमार्फत हकप्रद बिक्री गर्यो।
 
  • बोलकबोलमा अहिलेसम्मकै सबैभन्दा ठूलो हकप्रद लिलामी कृषि विकास बैंकको भयो। बिक्री प्रबन्धक एस क्यापिटलले १९ लाख ६८ हजार ५७५ कित्ता हकप्रद शेयर नबिकेपछि लिलाम गर्यो।
 
दोस्रो बजारमा ब्लूचिप मानिएका बैंकका हकप्रदको शेयर लिलामी किन भएनन्?
 
यसको प्रमुख कारण हो, मोफसलका लगानीकर्ताले शेयर आवेदन गर्न पाउँदैनन्। यही कारण अक्सनमा राखिएका शेयर पूरै बिक्री हुन पटक/पटक बोलकबोल गर्नुपरिरहेको छ। मोफसलका लगानीकर्तालार्इ शेयर किन्न दिन सकिएको भए यो अवस्था आउने थिएन। अहिलेको बोलकबोलमा उपत्यकाका लगानीकर्ताको मात्रै सहभागिता छ।


 
भदौं यता ३० कम्पनीले नविकेका हकप्रद बोलकबोलमार्फत बिक्री गरेका छन्। दुई कम्पनीका बोलकबोल अहिले पनि खुल्ला छ र दुई कम्पनीले बोलकबोल गर्ने मिति प्रकाशित गरेका छन्। 
 
नबिकेका हकप्रद शेयरलार्इ २०६५ सालमा नेपाल धितोपत्र बोर्डले ल्याएको ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५’ प्रावधान अनुसार बोलकबोलमार्फत बिक्री गर्नु पर्छ। तर बोलकबोल काठमाण्डौं केन्द्रीत हुँदा मोफसलका लगानीकर्ता बोलकबोलमा सहभागी हुन नपाएको पोखरा महानगरपालिकाका सरोज सुवेदीले बताए।
 
‘एभरेस्ट बैंकले पहिलो पटक गरेको हकप्रदको बोलकबोलमा पर्याप्त निवेदननै नपरेपछि दोस्रो पटक बोलकबोल गरेको छ, उनले बिजमाण्डूसँग टेलिफोनमा भने, मोसफलबाट पनि बोलकबोलमा सहभागी गराइएको भए यो अवस्था आउने थिएन।'
 
मोफसल जान सकिँदैन?  
बोलकबोललाई अहिलेकै अबस्थामा मोफसलमा लैजान समस्या रहेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले बताए। अहिलेसम्म कागजी प्रक्रियामा बोलकबोल हुने र एकै ठाउँमा बुझ्ने व्यवस्था गरिएको छ। 
 
बोलकबोल गोप्य हुने र सीलबन्दी गर्नुपर्छ। शेयरमा मूल्य र समयको महत्व हुन्छ। फेरि टेन्डर खोल्दा एकै ठाउँमा खोल्नु पर्ने र प्रतिनिधिहरु राख्नुपर्ने प्राबधानका कारण मोफसलमा लैजान कठिन भएको घिमिरेले बताए।
 
तत्काल काठमाण्डौ बाहिरका केही क्षेत्रमा निवेदन बुझ्ने व्यवस्था गर्न सकिएपनि व्यवहारिक नहुने उनले बताए।
 
हकप्रदको बोलकबोललाई मोफसल लैजान सबैभन्दा पहिले शेयर बजारलार्इ पूर्ण स्वचालित बनाउन आवश्यक छ। घिमिरेका अनुसार नियामकले इ-टेण्डरको व्यवस्था गरेमा देशैभरी बोलकबोल गर्न सकिन्छ।
 
नियामक निकाय के गर्दैछ?
धितोपत्र बोर्डले पनि मोफसलका लगानीकर्ताले तत्कालै लिलामीको शेयर किन्न नपाउने बताएको छ। बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीले मोफसलका लगानीकर्ताले समेत लिलामीमा सहभागी गराउनका लागि आवश्यक पूर्वाधार तयार गर्ने बारेमा छलफल भइरहेको बताउँदै तत्कालै भने मोफसलका लगानीकर्ताले लिलामीको शेयर किन्न नपाउने बताए।

Tata
GBIME
Nepal Life