BIZMANDU
www.bizmandu.com

महोत्तरीको गौशाला नगरपालिकाबाट ९० लाख रुपैयाँ गायब, चुनाबको मौका छोपी बैंकबाट पैंसा झिकियो

२०७४ असोज १७

महोत्तरी। महोत्तरी जिल्ला गौशाला नगरपालिकाको ९० लाख रुपैयाँ गोलमाल भएको छ । 
 
नगरपालिकाको बैंक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते ९० लाख रुपैयाँ निकालेको रहस्य सार्वजनिक भएको हो । 
 
कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिइकन खाताबाट रु एकसमेत नराखी खाता निल गरी निकालिएको खुलासा भएको छ । भदौ २९ गते कर्मचारीलाई तलबका लागि चेक काटेपछि खातामा पैसा नरहेको जानकारी नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पाएका थिए । खातामा पैसा नरहेको जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा एकै दिन यति ठूलो रकम झिकिएको रहस्य खुलेको हो। कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त थिए । प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलिभगतमा नगरपालिकाको सो रकम गोलमाल भएको हो । 
 
नगरपालिकाको खाताबाट एकैसाथ रु ९० लाख निकालिएको हो, गौशाला नगरपालिकाका कार्यकारी अधिकृत जोशीले पत्रकारसँग भने, “पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन ।” गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा रु दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म आफूलाई प्राप्त नभएको उनले बताए।
 
यता गौशाला नगरपालिकाको त्यति ठूलो रकम निकासा भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको नगरप्रमुख शिवनाथ महतोले बताए।नवनिर्वाचित प्रमुख महतोले भने, “जनताको पैसा लुट्ने कर्मचारी र भ्रष्टाचारीलाई कारबाही हुन्छ ।” नगरपालिकाको रकम दुरुपयोग गर्ने कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने महतोले चेतावनी दिए।
 

Tata
GBIME
Nepal Life