काठमाडौँ । साताव्यापी लामो चीन भ्रमणबाट एमाओवादी अध्यक्ष उत्साहका साथ शनिवार फर्किएका छन्, भ्रमणले नेपाल भारत र चीनवीच सहयोगको आधार तयार भएको भन्दै उनी उत्साहित मुद्रामा स्वदेश फर्किएका हुन् । नवनिर्वाचित चिनियाँ राष्ट्रपति सि जिङपिङको पहिलो दक्षिण एशियाली पाहुनाका रुपमा प्रचण्डले चीनमा न्यानो आतिथ्यता मात्र प्राप्त गरेनन्, उनले नेपालको विकाशमा केही ठोस आश्वासन पनि पाए । प्रचण्डले चीनसँग नेपालको जलस्रोत र पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरेका थिए, त्यसलाई चीनियाँ राष्ट्रपतिले सकारात्म भनेका छन्, त्यसबाहेक उनले नेपाल, चीन र भारत मिलेर दश हजार छ सय मेगावाटको कर्णाली चिसापानी निर्माणको प्रस्ताव गरेका थिए, अध्यक्ष प्रचण्डले बौद्ध भूमी लुम्विनीको विकासमा पनि त्रिपक्षीय सहयोग जुटाउन खोजेका थिए ।
प्रचण्डको प्रस्तावलाई सिले सकारात्मक भन्दै त्यसमा भारतको सहयोग खोज्न आग्रह गरेका थिए, प्रचण्डले विमानस्थलको पत्रकार सम्मेलनमा सिको भनाई उद्घृत गर्दै भने, चीन र भारतवीच सम्वन्ध विस्तार हुँदैछ, तपाईले पनि भारतसँग सहयोग लिनुहोस् । सिले नेपालको राजनीतिक सङ्क्रमणलाई तत्काल टुङ्ग्याएर मुलुकको आर्थिक विकासमा लाग्न प्रचण्डलाई सुझाव दिएका थिए । त्यसलाई पूरा गर्न चीनबाट महत्वपूर्ण सहयोग मिल्ने छ भन्नेमा हामी विश्वस्त छौं, प्रचण्डले भने ।
एमाओवादी अध्यक्ष प्रचण्डले गरिब नेपालले न त भारत भारतको हित गर्न सक्छ, । न त चीनको नै हित गर्न सक्छ भन्नेमा आफूले चिनीयाँ नेतृत्वलाई ध्यानाकर्षण गराएको पत्रकार सम्मेलनमा बताए । भ्रमणका क्रममा एमाओवादी अध्यक्ष चीनको विशेष आर्थिक क्षेत्र सान्झेन पनि पुगेका थिए । त्यहाँको चमत्कारिक विकासबाट आफू प्रभावित भएको उनले बताए । सान्झेनको कल्पना चीनका सुधारवादी नेता देङ सिया प्योङ्गले गरेका थिए, आज त्यहाँ माओवाद छैन् मात्र देङ्ग छन्, प्रचण्डले काठमाडौंमा भने । सान्झेनसँग कुनै वेला दुई लाख जनसंख्या थियो, अहिले त्यहाँ दुई करोड जनसंख्या पुगेको छ, उनले भने, सान्झेनका लगानीकर्तालाई मैले पनि नेपालमा निम्ताएको छु । लगानीकर्ताको टोली नेपालको जलविद्युत्, पर्यटन, सडक पूर्वाधार, विमानस्थललगातका क्षेत्रमा लगानी सम्भाव्यता खोज्न केही दिनमा काठमाडौं आउने जानकारि पनि उनले दिए । अध्यक्ष प्रचण्डलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नरायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटीलगायतका नेता उपस्थित थिए ।