काठमाडौं । राष्ट्र बैंकले कुल व्यापार घाटा २५.२ प्रतिशतले वढेर ३०९ अर्ब ५५ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको फागुनमा घाटा वृद्धि दर १७.१ प्रतिशत थियो ।
बस्तु निर्यात ५ प्रतिशतले वढ्दा आयात २२.१ प्रतिशतले उक्लिएकाले घाटा फराकिलो हुँदै गएको हो । चालु वर्ष वस्तु आयात ३६० अर्ब ५६ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष फागुनमा आयत वृद्धि दर १६.६ प्रतिशत थियो । अघिल्लो फागुन आयात २९५ अर्ब २४ करोडको भएको थियो ।
कुल आयातमध्ये भारततर्फको दोब्बरले वढेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले वढेको भारततर्फको आयात २४.२ प्रतिशतले वढेको छ । तेस्रो मुलुकको आयात भने सामान्य घटेको छ । अघिल्लो बर्ष २६.३ प्रतिशतले वढेको आयात वृद्धि दर यसपाली १८.२ प्रतिशत छ ।
भारतबाट पेट्रोलियम पदार्थ, सवारी साधन, सिमेन्ट, चामल, औषधिलगायतको आयात वढेको छ । भारत वाहेकका तेस्रो मुलुकबाट भने पोसाक, पाइप, चाँदीलगायतको आयात वढेको छ । बस्तु निर्यात ५ प्रतिशतले वढेर ५१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष निर्यात १४.१ प्रतिशतले वढेर ४८ अर्ब ५६ करोड पुगेको थियो । भारततिरको निर्यात पोहोरको १४.५ प्रतिशतको वृद्धिको तुलनामा २ प्रतिशतले मात्र वढेको होे । तेस्रो मूलुकमा १३.५ प्रतिशतको तुलनामा अहिले ११.२ प्रतिशतले वढेको छ ।
देशको शोधनान्तर बचत ८१ अर्ब ९ करोडबाट घटेर ११ अर्ब ७८ करोडमा आएको छ । वस्तु तथा सेवाको आयातमा भएको वृद्धि र रेमिट्यान्स वृद्धि दर घटेकाले शोधनान्तर घटेको हो । रेमिट्यान्सको वृद्धि दर ३४.७ प्रतिशतबाट घटेर २२.२ प्रतिशतमा आएको छ । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स २ सय ६६ अर्ब ९ करोड आएको छ ।