जुम्ला। ऊर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले कर्णाली क्षेत्रसहित जाजरकोट जिल्लाको जलविद्युतका बारेमा स्थलगत अध्ययन गरेको छ।
ऊर्जाको सम्भाव्यता बोकेको कर्णाली क्षेत्रको जलविद्युतको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका क्रममा टोली जुम्ला आइपुगेको हो ।ऊर्जामन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली अन्चलको मुख्य कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको अध्ययन गरेको बताए।
उहाँले मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कतिवटा जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको बताए । “आज गरेको कर्णाली क्षेत्रको ऊर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौं फर्केपछि छलफल गर्छौं, त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं,” मन्त्री शाहीले भने ।उनले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने वचन दिए।
एक फरक प्रसङ्गमा ऊर्जामन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको सवालमा एनजिओ/आइएनजिओले यहाँका नागरिकको बानी बिगारेको आरोप लगाए।उनले मुख्यतः हाइड्रोपावरको प्रचुर सम्भाव्यता बोकेको कर्णालीले अब हरेक कुरा आयात गर्ने मात्र नभई विद्युत् निर्यात गरेर देशलाई सहयोग पुर्याउने बताए।
टोलीले आजै जाजरकोट जिल्लाको पनि जलस्रोतको सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जामन्त्री शाहीसहित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोलीले कर्णाली क्षेत्रको अनुगमन गरेको हो ।
–––––