BIZMANDU
www.bizmandu.com

भ्रष्टाचारको आरोपमा सामसुङका अध्यक्षलार्इ जेल सजाय, कम्पनीको लाभकालागि ठूलो धनराशी दिएको ठहर

२०७४ भदौ ९

दक्षिण कोरियामा सामसुङ कम्पनीका अध्यक्ष लि जेइ योङलार्इ भ्रष्टाचारको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको छ।

Vigo
GBIME
Tata

उनीमाथि दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्यून हेइलार्इ सामसुङको बिस्तारका लागि पक्षमा लिने उद्देश्यले ठूलो धनराशी  उपलब्ध गराएको आरोप लागेको थियो। लि ले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएपनि उनीलार्इ ५ वर्षको जेल सजाय तोकिएको छ।

विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकर सामसुङका उत्तराधिकारी लिलार्इ गत फेब्रुअरीमै भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो। ४९ वर्षका लिलार्इ ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप छ। उनले यो रकम पूर्व राष्ट्रपति पार्क ग्यून हेइका साथी चोइ सुन सिलको गैर नाफामुलक फाउन्डेसनका लागि डोनेट गरेका थिए।

तर सार्वजनिक रुपमै पूर्व राष्ट्रपतिमाथि भ्रष्टाचारको मुद्दा उठेपछि सामसुङको तर्फबाट दिइएको रकममाथि पनि खोजबिन सुरु भयो। चन्दा भनेपनि यसलार्इ पनि भ्रष्टाचारकै संज्ञा दिँदै सजायको लागि सरकारमाथि ठूलो दवाव सिर्जना भयो। फाउन्डेसनका अध्यक्ष चोइ सुन सिलले यसअघि नै भ्रष्टाचारकै आरोपमा तीन वर्षको जेल सजाय पाइसकेका छन्।

सामसुङको ठूलो प्लान्ट स्थापना गर्ने क्रममा सरकारलार्इ आफ्नो पक्षमा लिनका लागि चन्दाको रुपमा यति धेरै रकम दिइएको आरोप लागेपनि लिका वकिलले भने सजायको विरुद्धमा अपिल गर्ने बताएको रोयटर्सको भनार्इ उद्धृत गर्दै बिबिसी अनलार्इन संस्करणले जनाएको छ।

फैसला आउनेबित्तिकै सामसुङको शेयरमा १ प्रतिशतले गिरावट आएको छ।  सजायपछि अब सामसुङको नेतृत्वकर्ता को हुने भन्ने बिषयमा पनि प्रश्नचिन्ह खडा भएको छ।

सन् २०१४ मा लि का पिता तथा सामसुङका संस्थापक लि कुन हिलार्इ हार्ट अट्याक भएपछि सामसुङको अध्यक्षका रुपमा लिले नेतृत्व गर्दै आएका थिए।