BIZMANDU
www.bizmandu.com

संविधान संशोधन प्रस्ताव पारित गर्न ४८ मत पुगेन, विधेयकको पक्षमा ३४७ मत, अस्वीकृत भयो विधेयक

२०७४ भदौ ५

काठमाडौँ।संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृत भएको छ।  
 

नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रस्ताव पारित गर्न ३९५ मत आवश्यक भएकोमा ३४७ मत मात्र पक्षमा परेको थियो। विपक्षमा २०६ मत परेको थियो। तटस्थमा कुनै मत परेन। 
 
नेकपा मालेका सांसद सीपी मैनालीले मतदान सुरु हुनुअघि बहिस्कार गर्ने घोषणा गरेपछि उनको दलका सांसदहरुले बैठक छाडेर गएका थिए। विधेयक पारित हुनका लागि आवश्यक संख्या सत्तारुढ दलसँग नभएकोले यो पास नहुने पहिले नै निश्चित जस्तै थियो। राप्रपाले पनि विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको थियो। 
 
प्रस्तावमाथि संशोधनकर्ता सांसद्ले धारणा राख्ने क्रम सोमबार सकिएलगत्तै मतदान प्रक्रियामा लगिएको थियो। मूल विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि संशोधन निर्णयार्थ पेस गरिएको थियो। ५० वटा संशोधनलाई ध्वनिमतका आधारमा छिनोफानो गरिएको थियो।
 
मूल विधेयकको छिनोफानो भने लवी विभाजनबाट भएको थियो। लवी विभाजन विधेयक पक्ष र विपक्षमा भएको थियो।सीमाङ्कन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले फिर्ता लिई नयाँ प्रस्ताव दर्ता गरिएको थियो।
 
मधेसकेन्द्रित दलहरुले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राखेपछि लामो समयदेखि यो प्रस्ताव थाती रहेको थियो। पछिल्लो समयमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा लगे नतिजा स्वीकार्ने भन्दै राजपाले ग्रिन सिग्नल दिएपछि सरकारले संविधान संशोधन विधेयक पेश गरेको थियो।

Tata
GBIME
Nepal Life