BIZMANDU
www.bizmandu.com

शेयरले बनायो आम मानिसलार्इ ‘अब्बल’, साइकलबाट संघर्ष थालेका तुलसीको लग्जरी कारसम्मको यात्रा

२०७४ साउन ३२

शेयरले बनायो आम मानिसलार्इ ‘अब्बल’, साइकलबाट संघर्ष थालेका तुलसीको लग्जरी कारसम्मको यात्रा
शेयरले बनायो आम मानिसलार्इ ‘अब्बल’, साइकलबाट संघर्ष थालेका तुलसीको लग्जरी कारसम्मको यात्रा

Tata
GBIME
Nepal Life

काठमाडौं। बाटो पुरानै हो तर तुलसी ढकालको गन्तब्य र शैली दुबै फेरिएको छ। कुनैबेला डिल्लीबजारको सडक साइकलले नापेका ढकाल आज र्याभ फोर गाडीमा त्यही सडकमा हुँइकिन्छन्।

  
उनी आम मानिस हुन् जो संघर्ष गर्दै सफलता पाउने थोरैमध्ये पर्छन् र उनको सफलता शेयरबजारसँग जोडिएको छ।
 
ससाना कामबाट थालनी गर्दै अघिबढेका ढकाल बजारमा अब्बल लगानीकर्ताका रुपमा चिनिइसकेका छन्। उनी चिलिमे हाइड्रोपावर र मध्य भोटेकोशी हाइड्रोपावरमा साधारण शेयरधनीका तर्फबाट संचालक छन्। मुक्तिनाथ बिकास बैंक र हाथबे इन्भेस्टमेन्टका संस्थापक शेयरधनी ढकाल सफल पथ सहकारीका अध्यक्ष पनि हुन्।
 
एसएलसी सकेर २०४६ सालमा मोरङ्गबाट काठमाडौँ छिरेका ढकालले गार्मेन्टमा काम गर्दै पढाइ अघिबढाए। लैनचौरमा गाउँकै चिनेका दाइको कोठाबाट डिल्लीबजारसम्म धाएर उनी पारस गार्मेन्ट पुग्थे। 


 
महिनाको एक हजार रुपैयाँबाट जागिर थालेका ढकालले करियरको सुरुवातमा गार्मेन्टको स्टोरकिपर बने। सरस्वती क्याम्पसमा आइए पढ्दै गार्मेन्टमा काम गर्दाका दिन उनलार्इ साइकल चढ्दा पनि आनन्द लाग्थ्यो रे। आज कारमा हुँइकिदै उनी सम्झन्छन् संघर्षका दिनमा काठमाडौंको सडकमा साइकल कुदाएको क्षण। 
 
गार्मेन्टमा काम गर्दै महालेखाको खरदारमा सरकारी जागिरको लागि आवेदन दिँदा उनको नाम निस्केन। पहिलो प्रयासमा असफल हुँदा उनी निकै निराश बनेको सुनाउँदै भन्छन्- ‘फेरि मैले कहिल्यै सरकारी जागिर खाने प्रयास नै गरिन।’ 
 
गारमेन्टमा डेढ वर्षको जागिरपछि उनले बाटो फेरे। २०४८ सालमा नेपाल डेलिभरी कुरियरमा इन्चार्जको काम थाले। एक हजारबाट १५ सयको तलब पुग्यो। अनि उनले बिहे पनि गरे। सिलाइबुनाइको काम गर्ने श्रीमती र आफ्नो जागिरबाट जोगाएको रकमलार्इ उनले शेयरबजारमा लगानी गरेदेखि नै जीवनस्तरमा सुधार आएको उनी निर्धक्क सुनाउँछन्।


 
दुर्इ तीनवटा कुरियरमा कामको अनुभवपछि उनले दुर्इ साथीसँग मिलेर  हिलसाइड कुरियर खोले। कुरियरमा काम गर्दै गर्दा छिमेकीको प्रोत्साहनले उनलार्इ शेयरबजारतिर तान्यो। 
 
२०५६ साल भदौमा छिमेककै साथ लागेर उनी पहिलोपटक पुतलीसडकको ब्रोकर नम्बर २५ पुगे जहाँबाट उनले हिमालयन बैंकको १० कित्ता शेयर किनेर शेयर बजारमा प्रवेश गरे। उनले त्यसबेला ११ सय १५ रुपैयाँ प्रति कित्ताका दरले हिमालयन बैंकको शेयर किनेको बताउँछन्। 
 
शेयरको रस बसेपछि उनले वर्ष दिनभित्रै तीन लाख रुपैयाँ शेयर बजारमा लगानी गरे।  आफूसँग भएको सानो पूँजीलार्इ डेढ बर्षसम्म शेयर बजारमा घुमाउँदै गर्दा बजार बुझ्न सजिलो भएको बताउँछन् ढकाल।
 
बजारमा लगानीका तरिकाहरु सिकेपछि उनले बिस्तारै ऋण लिएर लगानी गर्न थाले। बिभिन्न कामको अनुभव बटुलेका ढकालले शेयर बजारमा शेयर खरिद बिक्री गर्न थालेदेखिनै जीवनमा परिवर्तन आएको बताए- ‘शेयर बजार छिरेको चार वर्षमै मैले काठमाडौंमै घर जोडें।’ 


 
ढकालको अनुभवमा शेयर बजार जोखिम र संभावनाले भरिएको बजार हो। उनी नयाँ आउनेलार्इ प्राथमिक शेयरमै लगानी गर्न सुझाव दिन्छन्।  संयम रहनु र नआत्तिनु शेयरबजारमा लाग्नेले आत्मसाथ गर्नुपर्ने महत्वपूर्ण गुण हो जस्तो लाग्छ ढकाललार्इ। 
 
बजारमा उतार चढाव त आइनै रहन्छ । कहिले कमाउने कहिले गुमाउने हुँदा मानिसमा धैर्यता हुनु जरुरी हुन्छ। उनी भन्छन्- ‘जुनसुकै  अवस्थामा पनि मानिसले आफ्नो धरातल कहिले बिर्सनु हुन्न।’