BIZMANDU
www.bizmandu.com

बाढीपहिरोपछि सरकारले माग्यो सबैको सहयोग, अत्यावश्यक वस्तु उपलब्ध गराउन उद्योगीलार्इ आग्रह

२०७४ साउन २९

काठमाडौँ। सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउन आह्वान गरेको छ ।
 
गृह मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो । 
 
मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्तिको परिचालन गरिएको छ ।
 
बाढी तथा पहिरो प्रभावित ११ जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी र हेलिकोप्टर खोज तथा उद्धारमा खटिएका जनाइएको छ ।
 
उद्धार गरिएकालाई विद्यालयलगायतमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ । मन्त्रालयले यस विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । 
 

Tata
GBIME
Nepal Life