BIZMANDU
www.bizmandu.com

बिट क्वाइन कारोबारलाई राष्ट्र बैंकले अवैध ठहर गर्यो, कारोबार गर्नेलार्इ मुद्रा अपचलनको मुद्दा


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिट क्वाइन कारोबारलाई अवैध ठहर गरेको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंक उच्च स्रोतका अनुसार केहि दिन भित्रै विदेशी विनिमय व्यवस्थापन विभागले यस सम्बन्धि परिपत्र जारी गर्नेछ।विश्वव्यापी रुपमा संजाल फैलिएको बिट क्वाइनको नेपालमा पनि कारोबार बढ्दो क्रममा छ।पछिल्लो समय प्रहरीले केही बिट क्वाइन कारोबारीलाई पक्राउ गरेको थियो। उनीहरुलाई कारबाही गर्नेबारे प्रहरीले राय मागेपछि राष्ट्र बैंकले अवैध ठहर गर्ने निर्णय गरेको हो। त्यस अनुरुप प्रहरीलाई राय दिने प्रकृया पनि सुरु भइसकेको राष्ट्र बैंक प्रवक्ता नारायण पौडेलले जानकारी दिए।
 

विदेशी विनिमय नियमित गर्ने ऐनमा कतै पनि बिट क्वाइन जस्तो कारोबार आकर्षित नहुने हुँदा यसलाई राष्ट्र बैंकले यसलाई अवैध ठहर गरेको उनले बताए। यस्तो अवस्थामा बिट क्वाइन कारोबारीलाई मुद्रा अपचलनको अभियोग लाग्नेछ। चालु आर्थिक बर्षको बजेटमा समेत सरकारले हुन्डी तथा बिट क्वाइन मार्फत हुने मुद्रा अपचलोन रोक्न आवश्यक कदम चाल्ने उल्लेख गरिएको थियो। 
 
बिट क्वाइन एक किसिमको 'भर्चुअल' मुद्रा हो। तर, यसलाई वास्तविक मुद्रा हालेर किन्नुपर्छ। कुनै भौतिक अस्तित्व नभए पनि यसको मूल्य निरन्तर घटबढ हुने गरेको छ। लगानीकर्ताले सट्टे बजारमा जस्तै मूल्य बढ्ने अपेक्षामा बिट क्वाइनमा लगानी गर्ने गरेका छन्। नेपाली रुपैयाँमा बिट क्वाइन खरिद गर्ने संभव छैन। त्यसैले यहाँ कारोबार गर्नेले हुन्डीमार्फत रकम बाहिर पठाइ बिट क्वाइन खरिद गर्ने गरेका थिए।

कतिपय देशका सुपर मार्केट एवं रेष्टुरेन्टहरुमा बिट क्वाइनबाट भर्चुअल पैसा तिरेर किनमेल समेत गर्न मिलेको भन्दै यसका कारोबारीले सर्वसाधारणलाई समेत लगानी गर्न प्रोत्साहन समेत गर्ने गरेका थिए। आम लगानीकर्तालाई लोभ्याउन युट्युवमा समेत बिट क्वाइनका फाइदा भन्दै कैयन् भिडियो राखिएको छ। यसका कारोबारीले बिशेष गरि बैदेशिक रोजगारीमा जाने नेपालीलाई केन्द्रित गरेका छन्। 
 

बिट क्वाइनको सुरुवातकर्ता को हो भनेर अहिलेसम्म यकिन भएको छैन। सन् २००९ मा एक जापानी कम्युटर इन्जिनियरले यसको सुरुवात गरेको विश्वास गरिन्छ। अहिले कैयन् कम्युटर 'प्रोग्रामर'हरुले इन्टरनेट मार्फत बिट क्वाइन 'उत्खनन' गर्दै आएका छन्। 'डिजिटल गोल्ड'को रुपमा बजारमा उदाएको बिट क्वाइन कारोबारीहरु यसले डलर, यूरो वा एनले जस्तो विनिमयको साधनको मान्यता पाउने आशा गरिरहेका छन्।

सबैजसो देशका नियामक निकायले बिटक्वाइनलार्इ गम्भीरतापूर्वक लिँदै आएका थिए। तर, जापानले यसलाई अन्य मुद्रासरह मान्यता दिने निर्णय गरेको थियो। त्यस लगत्तै यसको भाउ ह्वात्तै बढ्यो।सन् २०१३ मा उचालिएर ११०० डलरसम्म पुगेको बिटक्वाइनको मूल्य अर्को साल सन् २०१४ मै तल झरेर २०० डलर भएको थियो। गत मे २४ मा यसको मूल्य अहिलेसम्मकै उच्च २४२० डलर पुगेको थियो। 
 

सन् १९९० को दशकमा आएको इन्टरनेटले जस्तै बिट क्वाइनले पनि  आफैंमा प्रयोग तथा  आविष्कारहरु गरिरहेको छ। इन्टरनेटले जसरी पब्लिक डेटाबेस तयार गर्छ त्यसरी नै पब्लिक डेटाबेस तयार गर्ने, ब्यबस्थित गर्ने र विस्तार गर्नेतिर बिटक्वाइनका डेभलपर लागेका छन्। तर, बिट क्वाइनमा कुनै पनि किसिमको प्रयोग गर्नु घातक हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि सजग गराउँदै आएका थिए। यसमा लगानीकर्ता एकै झट्कामा टाट उल्टिन सक्ने उनीहरुको भनाइ छ।
 
बिट क्वाइनबाट लागुपदार्थ कारोबारजस्ता कुनै पनि किसिमको आपराधिक गतिविधिहरु त भैरहेका छैनन् भन्ने बारेमा नियमन हुनु अत्यावश्यक रहेको आवाज उठ्दै आएको थियो।