काठमाण्डौं। अष्ट्रेलियामा एमबिए सकेपछि काठमाडौं उत्रँदा निराज राठी चौबाटोमा थिए। उनीतिर सबैभन्दा आशाका नजर तन्किएका थिए बुवा रामकुमारका। उनी चाहन्थे छोराले अब आफ्नै बिजनेसमा हैंसे लगाउन सघाउन्।
निराजका लागि कार्यालयदेखि टेबल कुर्सी सबै रेडी। तर, उनको सपना रेडी थिएन। उनी तत्काल बुबाको हात समाएर बिजनेस ज्वाइन गर्नभन्दा आफुलाई प्रमाणित गर्ने चुनौती लिन चाहन्थे।
अधिकृतको रुपमा तात्कालिन क्लिन इनर्जी विकास बैंक छिरे। उनकालागि जागिर पाउनुभन्दा त्यसमा बिताएका दुई बर्ष साँच्चिकै रहरलाग्दा थिए। त्यही छोटो अवधिमै उनी विभागीय प्रमुख बने। सहकर्मीहरुलाई समेत चक्मा दिनेगरी भएको उनको ‘करियर ग्रोथ’ जो कोहीका लागि लोभलाग्दो थियो।
बैंकिङमा मारेको फड्कोले उनमा नयाँ हिम्मत पलायो। अब बुबालाई थप पर्खाउन चाहेनन् उनले। आफु जन्मिनु अगावै बुबाले सुरु गरेको चिया बिजनेसमा हात हाले- एक पटकलाई मरिसकेको आफुभन्दा जेठो ब्राण्ड 'राकुरा' लाई पुनर्जन्म दिँदै।
***
दार्जिलिङमा १८औँ शताब्दीमै अंग्रेजले चिया लगाएसँगै सीमावारीको इलाममा त्यसको लहर चल्यो। सरकारले इलाम, कन्याम लगायतका रमणीय स्थानलाई चिया रोपेर थप मनमोहक बनायो। सरकारी स्वामित्वमा सिमित इलाम चिया बगानमा निजी क्षेत्र छिर्न भने लामै समय लाग्यो।
कसैको आँखा नपरेको बिजनेसमा हात हाल्ने व्यवसायी थिए रामकुमार राठी। उनले दमकस्थित हिमालयन टि गार्डेन र कन्याम चिया बगान भाडामा लिए। उनी कोलकात्तादेखि चीनसम्म पुगेर चिया कल्चरदेखि व्यापारको संभावना बुझेर यो क्षेत्रमा हाम फाले। चिया विकास निगमका तात्कालिन प्रमुख दामोदर गौतमको सहयोग पनि यो क्षेत्रमा हात हाल्न राठीका लागि प्रेरक बन्यो।
मुलुकका बिभिन्न चिया बगान भ्रमण, विदेशको बजार एवं विज्ञको परामर्श पश्चात राठी चिया निर्यात गर्ने चरणमा पुगे। पहिलो पटक हल्याण्डबाट माग आयो। निर्यातको कागजी प्रकृया मिल्दै थियो। अचानक निगमबाट गौतम बाहिरिए। नयाँ प्रमुखसँग चिनजान लगायत प्रशासनिक काम फेददेखि सुरु गर्नुपर्यो। विदेशबाट अर्डर आएको तीन महिना नाघिसकेको थियो। अन्ततः अर्डर रद्द भयो।
तर, राठीले हात हालिसकेका थिए। उनले हिम्मत हारेनन्। फेरि पनि निर्यात गरेरै छोड्ने र नेपालमा समेत ब्रान्डेड चिया उत्पादन गरेर बेच्ने अठोट लिए। अन्ततः सन् १९७३ मा हिमालयन टि गार्डेनको चिया बेलायत निर्यात गरे र निजी क्षेत्रबाट चिया निर्यात गर्ने पहिलो व्यवसायी बने।
त्यसबेला ब्रुकबण्ड, रेड लेवल जस्ता विदेशी ब्रान्डका चिया नेपालमा आउँथे। ब्रुकबण्डकै स्तरको प्याकेजिङ बजारमा ल्याए। नाम राखियो- 'राकुरा'।राकुराको मूल्य भने ब्रुकबण्डभन्दा १० रुपैयाँ सस्तो थियो। चिया त हटकेक जस्तो बिक्री भयो। बिहान पसल खोल्नु अगावै किन्ने मान्छेको लाइन लागेको हुन्थ्यो। राठीले यति धेरै बिक्री त कल्पना पनि गरेका थिएनन्।
व्यापारको बढ्दो ग्राफबीच राठीको जीवनमा अनौठो घटना घट्यो। उनले नेवारकी छोरीसँग अन्तरजातीय विवाह गरे। जातियता प्रति कट्टर परिवारले राठीमाथि केटी बिक्रीको आरोप लगाइदियो। उनले व्यवसायलाई निरन्तरता दिन सकेनन्। भर्भराउँदो उमेरमै राकुराको अवसान हुन पुग्यो।
***
राठी केहि समयपछि व्यवसायमा फर्किए। तर, राकुरा फर्किएन। अब उनको मनमा नयाँ सपना पलाउन थाल्यो- आफ्नै फ्याक्ट्री खोल्ने। इलामको फिक्कल नजिक मालुममा फ्याक्ट्री खोल्न जग्गा नै खरिद गरे। बाटोघाटोसम्म नपुगेको ठाउँमा फ्याक्ट्री खोल्छुभन्दा धेरैबाट राठीले पागलकै संज्ञा पाए। तर, उनी डगमगाएनन्।
सन् १९९३ मा मालुममा निजी क्षेत्रको पहिलो फ्याक्ट्री स्थापना गरि चिया निर्यात गर्न थाले। फ्याक्ट्रीले पहिलो बर्षनै नाफा कमायो। चिया बिक्रीका लागि जर्मन ग्राहकसँग 'फर्वार्ड कन्ट्रयाक्ट' हुन थाल्यो। बर्षको सुरुमै बर्षभर उत्पादन हुने चिया उनीहरुले किन्न थाले।
नेपाली चिया दार्जिलिङको नाम जोडिएर तेस्रो मुलुक जान्थ्यो त्यसबेला। तर, सन् २००० मा दार्जिलिङले कपी राइट ट्रेड मार्क (सिटिएम) लागु गर्यो। उक्त नीतिसँगै मालुमको चिया जर्मन आयातकर्ताले लिन छाडे। मालुमको सफलता देखेर आएका अरु फ्याक्ट्री समेत समस्यामा परे।
राठीको जीवनशैली अब चियाभन्दा टाढा जाने अवस्थामा थिएन। भर्खरै हाइस्कुल सिध्याएका छोरा निरजलाई लिएर उनी जर्मनी पुगे। त्यहाँ लजिष्टिकदेखि रिटेलसम्मको काम गर्ने रेवे कम्पनीसँग सम्पर्क भयो। उक्त कम्पनीको त्यही बेला युरोपमा १२ हजार सुपरस्टोर थिए।
मालुमको चिया आयात गर्ने जर्मन खरिदकर्ता सन् १९९८ मा रेवेका प्रमुख कार्यकारीलाई लिएर नेपाल आएका थिए। त्यसबेला रेवेका सिइओले कन्याम चिया बगान मन पराएर किन्छु समेत भनेका थिए।
त्यही पुरानो स्मृति सम्झाउँदै राठी जर्मनी पुगेका थिए। रेवेका सिइओले राठीको उच्च सत्कार गरे। तर, चिया किन्ने मामलामा भने हिम्मत देखाउन सकेनन्। उत्पादकसँग नभइ होलसेलर या प्याकेजरहरुसँग मात्र आफुहरुले चिया किन्न सक्ने उनको भनाइ थियो। त्यति हुँदा पनि आफुले सक्दो सहयोग गर्ने छोटो मिठो आश्वासन भने उनले दिए।
राठीले अरु चिया खरिदकर्तालाई पनि भेटे। प्रायः सबैबाट दार्जिलिङको नाम नजोडिएको अवस्थामा आफूहरुले आयात गर्न नसक्ने नै जवाफ दिए। छ महिनापछि अचानक रेवेको इमेल आयो। त्यहाँ मालुमको बिस्तृत बायोडाटा मागिएको थियो। उनीहरुले नै युरोपको ‘स्ट्यान्डर्ड’ मा प्याकेजिङ गर्न सिकाए र सुरुमा एक कन्टेनरभन्दा पनि कम चिया पठाइदिन माग गरे। मालुम ब्रान्डमा ‘प्याकेज्ड’ चिया जर्मनी जान थाल्यो।
त्यो चिया राम्रै ढंगले बिक्री भयो। उनीहरुले महिनाको एक कन्टेनरको दरले माग गर्न थाले। त्यो बढेर दुई कन्टेनर पुग्यो। कारोबार थालेको दुई बर्ष भएको थियो। उनीहरुले चार कन्टेनरको कुरा गर्न थाले। राठीको कम्पनीमा छुट्टै उत्साह छाइसकेको थियो।
अचानक एक दिन कम्पनीबाट मेल आयो- ‘तत्काललाई माग खासै नरहेको हुँदा चिया आपूर्ति नगर्नु होला।’ राठीले केही समय पर्खिए। छ महिना बितिसक्यो। तर, थप खवर आएन। बुझ्दा माग नै छैन भन्ने जवाफ आयो। तर, पत्यार लागेन। थप सोधिखोजी गर्दा कम्पनीकै स्टाफले गोप्य रुपमा जानकारी दिए- ‘यहाँका जति पनि प्याकेजर्स छन्, उनीहरुले उत्पादकबाट सिधा लिएमा आफूले चिया नदिने भने।’
यो निर्णयले राठीलाई खङ्ग्रँङ्गै बनायो। त्यसबेला अचानक निर्यातमा ब्रेक नलागेको भए अहिलेसम्ममा नेपालको चिया उद्योग अर्कै उचाइमा पुग्ने उनका छोरा निराज बताउँछन्। ‘त्यसबेला जति प्याकेज्ड चिया अहिलेसम्म कसैले पनि निर्यात गर्न सकेको छैन’ उनले सुनाए।
दार्जिलिङले पछि आफ्नो पुरानो निर्णय बदल्यो। शतप्रतिशत दार्जिलिङकै चिया हुनुपर्छ भन्ने मान्यतालाई ५१ प्रतिशतमा झार्यो र ४९ प्रतिशत बाहिरको चिया पनि राख्न सकिने प्रावधान बनायो। दार्जिलिङले त्यो बेला बार्षिक तीन/साढे तीन करोड किलो चिया निर्यात गर्दै आएको थियो। तर, त्यसमध्ये उसको आफ्नो उत्पादन एक करोड किलो हाराहारी मात्र थियो। बाँकी बाहिरकै चिया मिसाएर बिक्री गर्थ्यो। अन्ततः आफ्नो उत्पादनले माग पुरा गर्न नसकेपछि मापदण्ड बदल्न दार्जिलिङ बाध्य भयो।
***
युरोपको व्यापार सुकेपछि मालुमले भारतमा निर्यात सुरु गर्यो। युनिलिभर, बिरला ग्रुप, टाटा टि जस्ता कम्पनीले मालुमको चिया लिन्थे। उनीहरु नेपालबाट खुला चिया लैजान्थे र आफु प्याकेजिङ गरेर बेच्थे। टाटा टि गोल्डमा हुने पत्ती चिया मालुमले नै दिन थाल्यो। यसरी नेपालीबाट लिएको चिया ‘रि प्याकेजिङ’ गरेर भारतीयले निर्यात गर्न थाले। जर्मन आयातकर्ताले पनि भारतीयबाटै ठूलो परिमाणको खरिदमा रुची दिए।
एक पटक माग धान्न आफ्नो पुरानो निर्णयमा संशोधन गरेपनि दार्जिलिङ चियाको लागि ‘स्याम्पेन’ बन्ने मिसनमा अडिग थियो। सोही कारणले उसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो चियाको ‘जियोग्राफिकल इन्डिकेसन (जिआइ)’ समेत गर्यो। चियालाई दार्जिलिङको पर्यायको रुपमा चिनाउने योजना चालु नै रह्यो।
दार्जिलिङको रणनिति बुझेका रामकुमारले सन् २००६/०७ तिरै फेरि प्याकेजिङ सुरु गर्ने सोच बनाउन थालिसकेका थिए। तर, प्रविधिको युगमा उनले एक्लै हिम्मत गर्न सकेनन्। छोरा निराज अष्ट्रेलिया नै थिए। सन् २००९ कहिले होला र पठाइ सकेर निरज फर्केलान् भन्नेमा ध्याउन्नमा राठीले प्रतिक्षा गरे।
तर, नेपाल ओर्लिएपछि आफुलाई प्रमाणित गर्ने निराजको अठोट सुनेर रामकुमार थप पर्खन बाध्य भए। दुई बर्ष बैंकमा दिलोज्यान दिएर काम गरिरहँदा पनि निरजको मनमा नेपाली चियालाई पहिचान दिने सपनाले ढक्ढकाइरहन्थ्यो।
फुर्सदको समय नेपाली चियामा 'भ्यालु एड' गर्ने र चिया उद्योगलाई दीर्घकालीन बनाउने सपनामै उनी घोत्लन्थे। 'एकातिर दार्जिलिङ जिआइ इन्डिकेसन सहित चियाको प्रिमियम ब्रान्डिङमा लागिसकेको थियो र हाम्रो सामान त्यससँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थियो, उनले सुनाए- त्यसमाथि नेपालमा जसरी कार्पेट, गार्मेन्ट लगायतका उद्योग च्याउ जसरी उम्रिए र सकिए, चियाको पनि त्यही हालत नहोला भन्ने अवस्था थिएन।'
चारवटा चिया उद्योग रहेका स्थानमा एक बर्षमा १६ र अर्को बर्ष ३२ सम्म पुगे। किसानले उत्पादन गर्ने चियाको परिणाम चाहिँ नबढ्ने उद्योग चाहिँ उम्रिरहने प्रवृत्तिले यो क्षेत्रमा जोखिमकै अवस्था रहेको उनले ठाने।
‘नेपालले कहिले पनि ब्रान्डिङमा चासो दिएन। हिमालयन चिया भनेर ब्रान्डिङ गर्नुपर्छ, अनि मान्छेले खोज्छन्, भविश्यको बजार पनि सुरक्षित हुन्छ भन्नेतर्फ हामी कसैको पनि ध्यान गएन। बिक्रीमै आनन्द मानिरह्यौँ’ उनको अनुभव छ।
सरकार मात्र होइन निजी क्षेत्रका ‘प्याकेजर्स’ ले पनि ब्रान्डिङमा चासो दिएनन्। कसरी 'दार्जिलिङ टि' लेखेको प्याकमा आफ्नो चिया छिराउने बाहेक 'इन्नोभेसन' मा कसैको ध्यान गएन। प्रतिश्पर्धा गर्नुपर्ने छिमेकीको अवस्था भने बिल्कुल भिन्न।
भारत, बंगलादेश या श्रीलंकाको चिया बोर्डले जुन अनुपातको सुविधा र सहुलियत दिएका छन्, त्यो धेरै माथिल्लो स्तरको रहेको निरज बताउँछन्। साथै उनीहरुका लागि सबैभन्दा ठूलो सहुलियत प्रकृतिले दिएको छ- आफ्नै सामुन्द्रिक बन्दरगाह। नेपालीले समुन्द्रसम्म पुर्याउन जति खर्च गर्नुपर्छ ती देशले त्यसको आधा लागतमा सम्बन्धित बजार भएको मुलुकमा आफ्नो चिया पुर्याउन सक्ने अनुभव निरजको छ।
केही समयअघि मात्र फिलिपिन्सबाट दुई कन्टेनर चिया अर्डर आएको थियो। विराटनगरदेखि कोलकात्तासम्मको भाडा ११ सय २० अमेरिकी डलर लागेकोमा त्यहाँबाट मनिला पोर्टसम्म ३२० डलर मात्र तिर्नु पर्यो। ‘यसैलाई आधार मान्दा पनि आज दार्जिलिङ, बंगलादेश या श्रीलंकाको उद्योगलाई मनिलासम्म चिया पुर्याउन त्यो ३२० डलर मात्र लाग्छ, उनले भने।
दार्जिलिङले आफ्नो चिया चार रुपैयाँ प्रतिकिलो लागतमा कोलकात्ता बन्दरगाह पुर्याउँछ भने नेपाललाई १५ रुपैयाँ लाग्ने उनले बताए। ‘कच्चा पदार्थको लागत पनि हाम्रोमा नै महङ्गो पर्छ। मेसिनदेखि प्याकेजिङ सामानसम्म भारतबाटै ल्याइन्छ, निराजले भने, त्यति हुँदा पनि भारत सरकारले निर्यातमा सात प्रतिशत नगद अनुदान दिएको छ। हामीकहाँ रहेको दुई प्रतिशत अनुदान लिने प्रकृया यति ढिलो छ कि यता र उता धाउँदा धाउँदै दाँतबाटै पसिना छुट्छ।' जबकी भारतमा निर्यातको ‘डिक्लेयर’ गरेपछि विदेश सामान पठाउनु अगावै निर्यात अनुदान पाउने उनले सुनाए।
यसरी बैंक उनका लागि दोहोरो मौका बन्यो। एक आफुलाई प्रमाणित गर्ने मौका पाए भने, दोस्रो बाहिर बसेर चियाको सबै बस्तुस्थितीमा अपडेट भए। यी सबै तथ्य बुझेपछि नेपालको एउटा छुट्टै ब्रान्ड बनाउनैपर्छ र ‘भ्यालु क्रियट’ गर्नुपर्छ भन्नेक निष्कर्षमा पुगे निराज। अन्यथा नेपालबाट चिया पेलेर भारत या अरु कुनै देश पठाउने र १०० रुपैयाँमा किनेको चिया प्याकेजिङ गरेर उनीहरुले हजार रुपैयाँमा बेच्ने क्रम मात्र कायम रहने उनको निष्कर्ष थियो।
निराजले निर्णय लिए- ‘बुवाले नेपाली चियाको पहिलो प्याकेजिङ गर्दा राखेको नाम राकुरालाई पुनर्जन्म दिने।’ नेपाली चिया उद्योगको व्यावसायीकरणमा आफ्ना बुबाको योगदान र इतिहास उक्त नाममा झल्किने उनको ठम्याइ थियो। सोही कारण सन् २०११ देखिनै गृहकार्य सुरु गरेर २०१२ को सुरु तिर फेरि बजारमा झुल्कियो।
चियाको बजार र प्याकेजिङबारे श्रीलंकाको अभ्यासले उनलाई सबैभन्दा धेरै छोयो। श्रीलंकाको तुलनामा नेपालको चिया धेरै माथिल्लो कोटीको भए पनि किन बजारमा उनीहरु अघि छन् भन्ने प्रश्न उनको मनमा जन्मिएको थियो।
‘श्रीलंका न विश्वको सबैभन्दा ठूलो उत्पादक, न त निर्यातकर्ता नै! तर पनि उनीहरुले के गरिरहेका छन् त त्यस्तो खास?’ उनलाई यो प्रश्नले धेरै घचघच्यायो। पछि थाहा भयो त्यहाँ त चिया हेर्न छुट्टै मन्त्रालय रहेछ। श्रीलंकाले विदेशस्थित हरेक राजदूतावासमा एक जना चिया अधिकृत नै खटाउँदो रहेछ। यसबाट श्रीलंकाको सफलताको राज ‘भ्यालु एडिसन’ नै हो भन्ने निधोमा पुगे उनी।
उनले संकल्प लिए- ‘हामीबाट चार डलरमा किनेको खुला चिया भारत र जर्मनीले प्याकेजिङ गरेर २० डलरको बनाउँछ। हामी त्यति नसके पनि १० डलर त लिन सक्छौँ नि।’ निराजको मनमा यहि अठोट घुम्न थाल्यो।
हुनपनि अहिले विश्वमा चियाको सबैभन्दा ठूलो उत्पादक चीन हो। तर, विश्व बजारमा उसको नाम खासै सुनिँदैन। चिया निर्यातकर्ता मुलुकमा केन्या एक नम्बरमा छ। उसले श्रीलंकाको तुलनामा झन्डै दोब्बर नै चिया बेच्छ। तर, त्यसबाट कमाउने आम्दानी भने ठिक उल्टो छ। श्रीलंकाले चिया निर्यातबाट केन्या भन्दा झन्डै दोब्बर आम्दानी गर्छ। किनभने केन्याले भ्यालुएड गर्न सकेको छैन, जुन काममा श्रीलंकाले पृथक दक्षता देखाइ सकेको छ।
त्यही बुझाइका साथ राकुराको पुनर्जन्मको भयो। तर, अझै पनि सरकारका तर्फबाट गुणस्तरको ठोस मापदण्ड नहुनु चुनौतीपुर्ण रहेको उनी बताउँछन्। उनले स्वनियमनमा आफ्नो मापदण्ड आफैं तोकेका छन्। यसमा श्रीलंका सरकारको प्रतिबद्धताले भने उनलाई छोइरहन्छ। चियालाई श्रीलंकाले आफ्नो पहिचान नै बनाएको छ। त्यसका लागि व्यवसायीले गुणस्तरमा सम्झौता नगरुन् भनेर नियमनको बलियो संयन्त्र छ। चिया नबुझेको मान्छेलाई जथाभावी ढंगले यो क्षेत्रमा हात हाल्न सरकारले नै दिँदैन।
‘तर, हामीकहाँ सरकारले ठमेलजस्ता धेरै विदेशी ठोकिने ठाउँमा समेत बेच्न राखिने चियाको न गुणस्तरमा ध्यान दिएको छ न त मूल्यमा नै, उनले भने- यस्तो प्रवृत्तिले नेपाली चियाको बजार झन् खस्किने अवस्था आउँछ।’
यति हुँदा पनि विश्वसँग प्रतिस्पर्धा गर्न जानुछ भने आफैँ बदलिनु पर्छ भन्ने अठोटका साथ चिया 'प्रोसेसिङ' देखि प्याकेजिङसम्म सबै चरणमा नयाँपन सुरु गरे निरजले। पहिलो जोड प्रविधिमै दिए। 'टि ब्याग' बनाउन विश्व बजारमा प्रयोगमा आएको र नेपालमा चल्तिमा रहेको प्रविधि विल्कुलै भिन्न थियो। राठीले बाँकी विश्वमा 'आउट डेटेड' भइसकेको प्रविधिमा अल्झिएर नबस्ने सोच बनाए।
नेपालमा 'सिङ्गल च्याम्बर टि ब्याग' प्रयोग हुन्थ्यो। जसलाई पानीमा राखेपछि दुईतिरबाट मात्र स्वाद आउँछ। जबकी विश्व बजारमा 'डबल च्याम्बर टि ब्याग' प्रयोगमा आइसकेको थियो। त्यसमा पाँच तिरबाट चियाको स्वाद निस्किन्छ। यी दुई टि ब्याग उत्पादन गर्ने मेसिनको लागतमा १० गुणाको फरक छ। तर, उनले प्रविधिमा लगानी थप गर्न हिच्किचाएनन्।
प्याकेजिङका अरु कच्चा पदार्थमा पनि नेपाली प्रतिस्पर्धीले के गरिरहेका छन् भनेर हेर्न थालेनन् राठी। उनी चियाको विश्व विख्यात ब्रान्डले के प्रयोग गर्छ भन्नेमा चाहिँ चासो दिए। लामो समय टिकिरहोस् भनेर हरेक टि ब्यागलाई बाहिरबाट प्लास्टिकको प्याकेटमा 'प्याकेज्ड' पनि गरिएको छ। प्याकेजिङमा स्टेपल लगाउनदेखि टि ब्यागको धागोसम्म पनि प्रविधि सुदृढीकरणमा जोड दिइएको छ। माइक्रो अर्गानिज्म एवं ब्याक्टेरियाहरु प्रवेश गर्न नसक्ने प्रविधि अपनाइएको छ। कच्चा पदार्थको आयात अमेरिकादेखि युरोपसम्मका विभिन्न मुलुकबाट हुने गर्छ।
राकुरालाई पुनर्जन्म दिएको पाँच बर्षमा रहरलाग्दो नतिजा पनि देखिन थालेको छ। मालुमका अलावा इलामकै मंगलबारेमा अर्को फ्याक्ट्री लगाउने तयारी सुरु भएको छ। अहिले बुवा रामकुमारले विराटनगर एवं निराजले काठमाडौं बसेर व्यवसाय हेर्छन्।
अहिले राकुरा ब्राण्डमा ब्ल्याक, ग्रीन, मसला देखि विभिन्न फ्लेवरका दुई दर्जन बढी चिया उत्पादन हुन्छन्। आन्तरिक बजारमा राकुराले गुणस्तरीय चियाको मापदण्ड क्रमशः स्थापित गर्न थालेको छ भने ब्रान्डेड चियाको निर्यातमा पनि फड्को मार्ने आशा जाग्न थालेको छ। केही समयअघि फिलिपिन्सबाट आएको माग त्यही हो। बेलायत, चीन, मलेसिया र हङकङ पनि राकुरा निर्यात हुन थालि सकेको छ। र, अब राठीका आँखा विस्तारै पुरानो बजार जर्मनी लगायत 'इयु' तिर मोडिन थालेका छन्।