BIZMANDU
www.bizmandu.com

३० बर्षे सेवा अवधि हटाउने तयारी बिरुद्ध राष्ट्र बैंकका कर्मचारी युनियन, आन्दोलन गर्ने चेतावनी

२०७४ साउन ११

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुलाई लाग्दै आएको ३० बर्षे सेवा अवधिको प्रावधान हटाए आन्दोलनमा उत्रिने त्यहाँ कार्यरत कर्मचारीहरुले युनियनले चेतावनी दिएका छन्। नेपाली कांग्रेस समर्थित नेपाल वित्तिय संस्था कर्मचारी संघ र नेकपा एमाले समर्थित नेपाल राष्ट्र बैंक कर्मचारी संघले कर्मचारीको वृत्ति विकासमा अवरोध पुग्ने कुनै पनि प्रावधान स्वीकार्य नहुने जनाएका हुन्। 
 
वित्तिय संस्था कर्मचारी संघले जनशक्ति विकास योजना निर्माण उच्चस्तरिय समितिलाई पत्राचार गर्दै एवं राष्ट्र बैंक कर्मचारी संघले विज्ञप्ति जारी गरि राष्ट्र बैंकमा कायम ३० बर्षे सेवा अवधिको प्रावधान नचलाउन माग गरेका छन्। 
 
नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको विनियम १११ मा ३० बर्षे सेवा अवाधिको प्रावधान राखिएको छ। वित्तिय संस्था कर्मचारी संघले उक्त व्यवस्था नचलाउन अनुरोध गर्दै आएकोमा समितिका अधिकांश सदस्यले संशोधन गरेरै छाड्ने अडान लिएको जनाएको छ। आफुहरुलाई उक्त संशोधन मान्य नहुने र सहमति बिना एकपक्षिय ढंगले समितिले सञ्चालक समितिलाई प्रतिवेदन बुझाए आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ।
 
यस्तै राष्ट्र बैंक कर्मचारी संघले आफुहरुसँग विगतमा भएको सहमतिलाई समेत उल्लंघन गर्दै उक्त व्यवस्था हटाए आन्दोनमा उत्रिने चेतावनी दिएको छ। राष्ट्र बैंकको हित र कर्मचारीको वृत्ति विकासमा कुनै सम्झौता नगर्ने संघको दावी छ। 
 
व्यवस्थापनले एकलौटी निर्णय गर्न खोजेको भन्दै संघले कर्मचारीहरुलाई आन्दोलनको मनस्थिती बनाउन समेत आह्वान गरेको छ। आन्दोलनका कारण सिर्जनामा आफु नभइ व्यवस्थापन जवाफदेहि हुने संघको भनाइ छ।
 
राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी नेतृत्वको जनशक्ति योजना सम्बन्धि सुझाव दिन गठित समितिले त्यहाँ हाल प्रचलनमा रहेको ३० बर्षे सेवा अवधिको प्रावधान हटाउन गृहकार्य गरि रहेको छ। गभर्नर चिरंजीवि नेपालले नै समितिले ३० बर्षे सेवा अवधि हटाएर सुझाव दिन दबाब दिएको स्रोतले बतायो।
 

Tata
GBIME
Nepal Life