BIZMANDU
www.bizmandu.com

कति चीनबाट मात्र आयात गर्ने ? नेपालले पनि अक्टोवरबाट सुन्तला निर्यात गर्ने

२०६९ साउन ६

काठमाडौं । नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतमा सुन्तला निर्यातको तयारी थालेको छ । नेशनल प्लान्ट क्वारेन्टाइन कार्यक्रममा  प्रमुख इश्वर रिजालले यो सिजनमा नेपालबाट तिब्बत सुन्तला निर्यात हुने जानकारी दिए । आगामी अक्टोबरबाट निर्यात गर्ने गरी नेपाल र तिब्बतबीच एक महिनाअघि छलफल भएको पनि उनले जानकारी दिए ।
कृषि विभागमा भएको छलफलमा नेपाली फलफुल चीनको बजारमा उपलब्ध गराउन दुवै पक्ष सहमत भएका हुन् । यसको औपचारिक सम्झौता शुक्रबार भएको थियो । हामी एक सय टन सुन्तला निर्यातको लक्ष्य बनाएका छौं, रिजालले भने । नेपालले पहिलो चरणमा स्याङजा र सिन्धुलीको सुन्तला तिब्बत निर्यातको तयारी गरेको छ । स्याङजाको सुन्तला उत्कृष्ट गुणस्तरको मानिन्छ । गत वर्षको तथ्यांक अनुसार स्याङजाबाट ११ हजार टन सुन्तला उत्पादन भएको थियो भने सिन्धुलीबाट पनि त्यति नै सुन्तला उत्पादन भएको थियो ।
चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्वाका अनुसार नेपालबाट २००४ यता सुन्तला पहिलो पटक तिब्बत निर्यात गर्न लागिएको हो ।

Tata
GBIME
Nepal Life