काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणमा निजी सवारी साधन किन्नेहरुका लागि खुकुलो नीति लिएको छ। ५० प्रतिशत बुझाउनु पर्ने डाउनपेमेन्ट अब ३५ प्रतशित बुझाए हुन्छ।
विद्युतीय कार किन्नेलाई त डाउनपेमेन्टमा अझ सहज भएको छ। ५० प्रतिशतको डाउनपेमेन्ट अब २० प्रतिशतमा झरेको छ।
राष्ट्र बैंकको नीतिपछि कार किन्न केही सहज भएपनि महिनैपिच्छे तिर्नु पर्ने किस्ता, यसको प्रोसेसिङ फिसका बारेमा जान्नु जरुरी हुन्छ।
अहिले बैंकहरुसँग ऋण दिने पैसा अभाव भएकाले ब्याज दर बढाएका छन्। पैसा नभएका बेला ग्राहकहरु ऋण माग्न निरुत्साहित गर्न प्रोसेसिङ फिस पनि बढाएका छन्।
तैपनि बैंकपिच्छे बार्षिक ब्याज, प्रोसेसिङ फिस फरक फरक छन्। तुलनात्मक रुपमा सरकारी स्वामित्वका बैंकहरुको ब्याज कम छ। तर यी बैंकले गाडी किन्नलाई सजिलै ऋण भने दिइरहेका छैनन्। ऋण पाउन पनि 'सोर्सफोर्स' लगाउनु पर्छ।
तर निजी क्षेत्रका बैंकहरुले तपाईको वित्तीय अवस्था हेरेर ऋण दिइरहेका छन्। डाउनपेमेन्ट घटेका कारण गाडी किन्दै हुनु हुन्छ भने बैंकहरुको वेवसाइटमा गएर ब्याज दरको तुलना गर्नुस्। प्रकाशित ब्याजमा मोलमोलाइ गर्दा थोरै भए पनि ब्याज दर कम हुने संभावना रहन्छ।
राष्ट्र बैंकको नयाँ नीति निर्देशन जारी भएपछि मात्र लागू हुन्छ। त्यसअघि तपाई पहिले कति डाउनपेमेन्ट लाग्थ्यो अहिले कति लाग्छ भनेर हिसाब किताव गर्नुस्। अहिले बैंकहरुले सात बर्षसम्मका लागि गाडी कर्जा दिइरहेका छन्।
५० प्रतिशत डाउनपेमेन्ट तिर्ने बेलामा २० लाखको गाडी किन्न १० लाख आफूसँग हुनु पर्थियो। अहिले २० लाखको गाडी किन्न सात लाख रुपैयाँ आफूसँग हुनु पर्छ।
इलेक्ट्रिक कार किन्ने हो भने, २० लाख गाडीको मूल्य परे चाल लाख रुपैयाँ मात्र आफूसँग भए पुग्छ। तर बैंकले ब्याज तिर्न सक्ने क्षमता छ कि छैन भनेर चै हेर्छ। मानौं मासिक किस्ता २० हजार रुपैयाँ तिर्नु पर्छ भने तपाईको मासिक कमाइ अढाइ गुणा वढि अर्थात ५० हजार रुपैयाँ हुनु पर्छ।
गाडीको ऋणका लागि के के चाहिन्छ?
बैंक ऋणमा गाडी किन्नका लागि सबैभन्दा पहिले नागरिकता र पासपोर्ट साइजको फोटो चाहिन्छ। बैंकले गाडीको कूल मूल्यको ६५ प्रतिशत मात्र ऋण दिन्छ।
ऋण लिनका लागि कुन कम्पनीको कति मूल्यको गाडी हो त्यसको विवरण खुल्ने विवरण चाहिन्छ। त्यो तपाईलाई बैंकका लागि भनेर माग्यो भने विक्रेताले दिइहाल्छ। त्यो कोटेसनपछि तपाईको आम्दानीको स्रोत बैंकले खोज्छ।
तपाई जागिरे हो भने जागिर खाएको कम्पनीबाट आम्दानी खुल्ने कागज लैजानु पर्छ। जागिर हैन अन्य आम्दानी स्रोत भए त्यसको विवरण चाहिन्छ। त्यसपछि बैंकले तपाईको आम्दानीलाई पत्याएन भने ६ महिनाको बैंक स्टेटमेन्ट खोज्छ।
यतिका भरमा मात्र ऋण पाइँदैन। तपाईको अरुतिर सम्पति भए त्यसको विवरण माग्छ। त्यसपछि तपाईले ब्याज दरमा वार्गेनिङ गरेर ऋण लिनु होला।