BIZMANDU
www.bizmandu.com

पेट्रोलियममा कार्टेलिङको तयारी, तीन संस्था एक हुँदै, शिव घिमिरे संयोजक बन्ने

२०६९ साउन ६

काठमाडौ । पेट्रोलियम व्यवसायीले कार्टेलिङका लागि तीन वटा संगठनलाई एकीकृत बनाएर लैजाने तयारी सुरु गरेका छन् । यसका लागि उनीहरुले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ग्यास उद्योग संघ नेपाललाई एकीकृत बनाउने तयारी गरेका हुन् ।
प्रारम्भिक चरणको छलफलमा तीन वटै संगठन एकीकृत बनाएर थप नाफाको लागि सरकारलाई दबाब दिने रणनीति बनेको छ । तीनवटै संगठनलाई एकीकृत बनाउने अभियानमा सुगम ग्यासका सञ्चालक शिव घिमिरेले नेतृत्व लिएको स्रोतले जानकारी दियो । यो अभियानमा महासंघका अध्यक्ष खगेश्वर बोहोरा र पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याल सक्रिय छन् । घिमिरे, बोहोरा र अर्याल ट्यांकर ढुवानी व्यवसायीमा पाटनर हुन् ।
तीनवटै संगठनलाई एकीकृत बनाउन शुक्रवार गोर्कण भिजेल रिर्सोटमा पहिलो चरणको छलफल समेत भएको छ । दिउँसो छलफलपछि महासंघले बेलुका रात्री भोज समेत राखेको थियो । यो भोजमा वाणिज्य तथा आपूर्ति सचिव लालमणी जोशी, सहसचिव दीपक सुवेदी, आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाललाई पनि निम्तो दिइएको थियो ।
छलफलमा पेट्रोलियम क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न एकीकृत रुपमा लैजान आवश्यक रहेको भन्दै एकीकृत भएर जान घिमिरे पक्षधरले दबाब दिएका थिए । एक ढुवानी व्यवसायीका अनुसार तीनवटै संगठनलाई एकीकृत बनाएर त्यसको संयोजक घिमिरेलार्य बनाउने तयारी भएको छ ।
एकीकृत बनाएर लैजान सकियो भने हामीले सरकारसँग राखेका माग पूरा हुन्छ, घिमिरे पक्षधरले भनेका थिए, यसले हाम्रो व्यवसायको समस्या समाधान हुन्छ । एक व्यवसायीका अनुसार एकीकृत बनाएर लगेमा पेट्रोलियम क्षेत्रमा थप विकृती आउँछ ।
तीन वटै संगठन बनाउनु भनेको यो क्षेत्रमा थप विकृती ल्याउनु हो, एक व्यवसायी भन्छन्, यो समूह बनेमा पेट्रोलियम क्षेत्रमा थप अराजकता ल्याउने र उपभोक्ता मर्कामा पर्छन् । उनका अनुसार घिमिरेलाई संयोजक बनाउनु भनेको पेट्रोलियम क्षेत्रलाई थप बदनाम बनाउनु हो ।
घिमिरेले एक वर्षअघि सिलिन्डरको फूटरिङ र नेकरिङ गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । १५ हजार सिलिन्डरको फूटरिङ र नेकरिङ काटेको आरोपमा सुगम ग्यास ६ महिना बन्द भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले घिमिरेले उपभोक्ताको ज्यानमाथि खेलवाड गरेको भन्दै उपभोक्ता ऐन २०५४ अनुसार मुद्धा दायर गरेको छ । यो मुद्धा अहिले अदालतमा चलिरहेको छ ।

Tata
GBIME
Zonsen