
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा भएको १६ औं पुष्प व्यापार मेला आईतबारबाट सकिएकोे छ । चैत्र १५ देखि १८ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित मेलामा ५८ हजार सर्वसाधरणले अवलोकन गरेका थिए । चार दिनसम्म चलेको मेलामा ६८ लाखभन्दा बढिको कारोबार भएको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले बताए ।
मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूलबिरुवाहरुमा स्वच्छ प्रतिस्पर्धा गराई पुरस्कृत गरिएको थियो । प्रतिस्पर्धामा प्रथम हुने बिभिन्न नर्सरीलाई नेपाल राष्ट्र बैंक गभर्नर डा. युवराज खतिवडाले पुरस्कृत गरेका थिए । पुष्प मेला राष्ट्र बैंकको डेपुटी गभर्नर महाप्रसाद अधिकारीले समेत अवलोकन गरेका थिए ।

यस पटक मेलामा सहभागी हुन धेरै पुष्प व्यवसायीले ईच्छा गर्दा गर्दै पनि समाबेश गराउन नसकिएको बताउदै फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले अर्को बर्ष धेरै भन्दा धेरै व्यवसायीलाई स्थान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्को बर्ष यहि समयमा अन्तराष्ट्रिय पुष्प प्रदर्शनी तथा व्यापार मेला काठमाण्डौमा संचालन गर्ने फ्यानको योजना रहेको समेत उनले बताए । दर्शकको बाक्लो उपस्थितीसंगै फूल तथा बोट बिरुवाहरुको बिक्री बितरण पनि उल्लेख्य मात्रामा भएको थियो । चार दिनसम्म संचालन भएको मेलामा सबै खाले दर्शकको उपस्थिती रहेको थियो । बालबच्चा, युवायुवाती देखि बृद्ध बृद्धाहरु सबैको उत्तिकै उपस्थिती रहेको छ ।

हरेक बर्ष अवलकोकनकर्ताको संख्यामा बृद्धि हुदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको छ भन्ने सुचित पनि यस मेलाले गराएको साथै खरिद बिक्री बढनुमा पुष्प व्यवसाय प्रति धेरै मानिसहरु आकर्षित भई यसको सौन्दयर्ता प्रति जागरुक र सचेत भएको फ्यानले जारी विज्ञप्तिमा छ । प्रदर्शनीले पुष्प व्यावसायको क्षेत्र फराकिलो बनाउन महत्वपूर्ण भुमिका निर्बाह गरेको फयानका कार्यक्रम संयोजक जे.बी तामाङ्गले बताए ।

यो पुष्प मेलामा नेपालका ५४ व्यावसायिक स्टल, पाँच सूचनामूलक स्टल र दुई फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल गरी जम्मा ६१ वटा स्टल राखिएका थिए ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको र चार दिनसम्म चल्ने मेलामा ४५० भन्दा बढी प्रजातिका फूल तथा बोटबिरुवाहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए ।

मेलाका उद्घाटनका दिन बिहिवार उत्कृष्ट मौसमी फूल तथा उत्कृष्ट स्टलतर्फ बुद्ध हर्ष नर्सरी, उत्कृष्ट आलङ्कारिक बिरुवातर्फ नारायणी नर्सरी, उत्कृष्ट फुल्ने बिरुवातर्फ एभरग्रिन नर्सरी, उत्कृष्ट ल्यान्डस्केपतर्फ पिपल नर्सरी, उत्कृष्ट पुष्प सजावटकर्ता कृष्ण फ्लावर सपलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

अहिले नेपालको ३६ जिल्लामा ६३५ पुष्प फर्म–नर्सरीबाट १२० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिंदै आएको छ, यो पेशाबाट झण्डै ४० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

नेपालले सन् २०११–१२ को अवधिमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको पुष्पजन्य वस्तु विदेश निर्यात गरेको थियो, विदेशबाट नेपालमा पनि उत्तीकै मात्रामा पुष्प सामाग्री आयात भैरहेको छ ।

प्रदर्शनीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले गरे, उनले बैंक तथा वित्तीय संस्थाको सहयोगमा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न सकिए रोजगारीका अवसर बढ्ने बताए ।

खतिवडाले पुष्प व्यवसाय विदेशी मुद्रा आर्जनका लागि स्रोत हुने समेत बताए, कार्यक्रममा खतिवडाले मध्यमस्तरका परियोजना फाइनान्सिङ्ग गर्ने संयन्त्र बनाउन समेत बैंकहरुलाई आग्रह गरे ।

मेलाका संयोजक कुमार कसजु श्रेष्ठले समग्र नेपाली पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप मेलाको आयोजना गरिएको बताए । मेलाले व्यावसायिक गतिविधि, प्रविधि हस्तान्तरण, सूचनाको प्रसारण, व्यावसायिकतामा थप आयाम थप्ने अपेक्षा गरिएको छ ।