BIZMANDU
www.bizmandu.com

अनलाइन प्रणालीको आन्तरिक परिक्षण सुरु, आउँदो दशैँसम्ममा लगानीकर्ताको हातमा पुग्नेछ माउस

२०७४ असार ९

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन प्रणालीलार्इ कार्यान्वयनमा ल्याउन सफ्टवेयर निर्माता कम्पनीलाई आन्तरिक परिक्षणकालागि अनुमति दिएको छ।
सफ्टवेयर निर्माता कम्पनी वाईकोले अनुमति पाएसंगै नेप्सेकै प्राबिधिक शाखामा रहेको सर्भरमा एप्लिकेसन जडान गरी डेभलपमेन्टको काम अघि बढाएको नेप्सेको प्राविधिक शाखा प्रमुख निरन्जय नायकले जानकारी दिए।     
    
अहिले सफ्टवेयर कम्पनी वाईकोले सूचीकरण प्रणाली, ब्रोकर सम्बन्धी प्रणाली र जोखिम ब्यबस्थापन प्रणालीको परीक्षण सुरु गरेको नायकले बताए।

Tata
GBIME
Nepal Life

सूचक ब्यबस्थापन प्रणाली, सुपरिवेक्षण सम्बन्धी प्रणाली, धितो सम्बन्धी प्रणाली, सुचना सम्प्रेषण प्रणाली लगायतका १८ प्रणालीको छुट्टाछुट्टै सिस्टम तयार भई परीक्षण गर्न लागिएको नेप्सेले जनाएको छ ।  

नयाँ आर्थिक वर्षको दोस्रो त्रैमासबाट अनलाइन सेवा दिने घोषणा गरेको नेप्सेले साउन महिनामा नयाँ सिस्टमलाई ब्रोकरसम्म पुर्याउने र आगामी दशैँसम्म लगानीकर्तामाझ पुर्याउने लक्ष्य राखेको  नायकले बताए ।

नेप्सेले अहिले प्रयोग गरिरहेको सिस्टमले सबै बिधाको काम एउटै सिस्टम अन्तर्गत गर्छ जसले गर्दा सिस्टममा सानो समस्या आएपनि सबै कारोबार बन्द हुने गरेको छ ।

तर अहिले विकास भैरहेको सफ्टवेयरले भने विधागत रुपमा सबैको अलग अलग प्रणालीमार्फत काम गर्ने छ । जसको कारण कुनै एक प्रणालीमा समस्या आएपनि सबै काम नरोकिने नायकले बताए ।

यो प्रणालीमा देशविदेशबाट कारोबार गर्न मिल्नुका साथै इन्टरनेट सुविधा भएको कुनै पनि ठाँउबाट लगानीकर्ताको पहुँच नेप्सेमा सीधै पुग्नेछ। कम्प्युटर, ल्यापटप, मोबाइल, ट्याब्लेट लगायत जुनसुकै प्रणालीबाट लगानीकर्ताले शेयर खरीद बिक्री गर्न पाउने छन् ।

अहिले एक मिनेटमा दुई सय ४० वटामात्र कारोबार गर्न सक्छ भने नयाँ आउने प्रणालीबाट एक मिनेटमा २० लाखवटा कारोबार एकै पटक गर्न सकिने बताइएको छ।