BIZMANDU
www.bizmandu.com

बैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले खोले स्वीमिङ पुलसहितको रिसोर्ट, डेढ करोड लगानी

२०७४ असार ५

बैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले खोले स्वीमिङ पुलसहितको रिसोर्ट, डेढ करोड लगानी
बैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले खोले स्वीमिङ पुलसहितको रिसोर्ट, डेढ करोड लगानी

फलेवास (पर्वत)। डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ।
 
पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका तीन जना युवाको सक्रियतामा कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो। 
 
पर्वतका तीन युवाले डेढ करोड रुपैयाँ लगानी गरेर रिसोर्ट निर्माण गरेका हुन्। ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचना र टायल बिछ्याउने काम मात्रै बाँकी रहेको छ। 
 
असारको दोस्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिए। 
 
धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्लामध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुलसहितको यो रिसोर्ट पहिलो हो। रिसोर्ट सञ्चालनका लागि श्रेष्ठसँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन्। यी तीनै जना युवा विगत केही वर्षअघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरियालगायतका स्थानमा बसेर फर्किएका हुन्। 
 
रिसोर्ट सञ्चालनका लागि करिब १५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिइएको छ। सात फिट गहिराइ, ७३ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुलसमेत निर्माण गरिएको छ। 
 
पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थयात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिए। 
 
मुक्तिनाथ पुग्ने भारतीय तथा स्वदेशी धर्मावलम्बीका लागि पर्वत ट्रान्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताए।
 
गर्मीयामका लागि रिसोर्टबाट करिब ४०० मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छ भने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्माले बताए। 
 
पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तव्यहरु यान्त्रिक पुल, नेपालकै अग्ला तीन वटा झोलुङगे पुल, बञ्जिजम्पलगायतका स्थल रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकलाई अत्याधुनिक सेवा दिन रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालक विष्णुराज पुरीले बताए। 

Tata
GBIME
Nepal Life