BIZMANDU
www.bizmandu.com

आन्तरिक राजश्व विभागका डिजी चुडामणि शर्मा अख्तियारद्वारा पक्राउ, करमा मनपरि छुट दिएको आरोप


काठमाडौं । कर फर्छ्यौट आयोग मार्फत मनपरि कर छुट दिएको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्। 

Tata
GBIME


 

कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्रीमा लाभकर छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान थालेको हो।
 
लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि राजश्व विभागमा रहँदा भ्रष्टाचार गरे लगायतका उजुरीका आधारमा अख्तियारले पक्रेको हो।

चुडामणीबारे बिजमाण्डूको आर्काइभ स्टोरी-

 
चुडामणि सबै राजनीतिक दललाई मिलाएर 'काम लिन' माहिर सह-सचिवमा पर्थे। सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको फूटरिङ र नेकरिङ गरेको मुद्दामा उद्योगी शिवप्रसाद घिमिरेलाई उन्मुक्ति दिएका थिए। त्यस लगत्तै सरकारले उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरि 'पुरस्कृत' गरेको थियो। 

 

पछि उनी अर्थ मन्त्रालय छिरेका थिए। सुरुमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशक हुँदै आन्तरिक राजश्व विभाग पुगे। सम्पत्ति शुद्धिकरणमा रहँदा उनी अन्तर्गतका अधिकृतलाई अख्तियारले १० लाख घुस सहित रंगेहात पक्राउ गर्यो। ती अधिकृतले शर्माको आदेशमा घुस लिएको बयान दिए। तर, त्यस घटना लगत्तै शर्माले तात्कालिन अर्थमन्त्री रामशरण महतबाट अर्को पुरस्कार पाए- आन्तरिक राजश्व विभागको महानिर्देशकमा सरुवा भए।

 

शर्मालाई महानिर्देशक बनाएपछि महतले नै कर फर्छ्यौट आयोग गठन गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको अध्यक्षतामा गठित आयोगमा शर्मा सहित उमेश ढकाल सदस्य थिए। उनीहरुले बिभिन्न व्यवसायीको ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ छूट दिएका थिए।

साधारणतया हरेक दुई बर्षमा कर्मचारी सरुवा हुने गरे पनि चुडामणी भने तीन बर्ष देखि सरकारका सबैभन्दा शक्तिशाली विभागमा पर्ने आन्तरिक राजश्वको  प्रमुखमा कायम थिए। कांग्रेसको तर्फबाट अर्थमन्त्री बनेका महतले नियुक्त गरेको भए पनि एमालेका विष्णु पौडेल र माओबादीका कृष्णबहादुर महराको पनि उनी उत्तिकै प्यारो बन्न सफल भएका थिए।