BIZMANDU
www.bizmandu.com

नेपाल आयल निगमको नाफाले उकास्यो संस्थान सूचक, ३५ मध्ये २३ संस्थानले कमाए नाफा

२०७४ जेठ १४

काठमाडौं । नेपाल आयल निगमको कारण गत आर्थिक बर्षमा सार्वजनिक संस्थानको नाफा सूचक उकालो लागेको छ। आर्थिक बर्ष २०७२/७३ मा सार्वजनिक संस्थानले कुल ३४ अर्ब ९६ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका हुन्। अघिल्लो बर्षको तुलनामा यो नाफा १.६१ प्रतिशतले बढी रहेको आइतबार सरकार द्वारा जारी सार्वजनिक संस्थानको बार्षिक स्थिति समिक्षा २०७४ मा उल्लेख छ। 
 
सञ्चालनमा रहेका ३५ मध्ये २३ सार्वजनिक संस्थानले आर्थिक बर्ष २०७२/७३ मा नाफा कमाएका छन्। त्यसमध्ये सबैभन्दा धेरै नेपाल आयल निगमले १९ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको जनाइएको छ। गत बर्ष अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च दरले घटेको कारण निगमले ठूलो नाफा कमाएको थियो। चालु आर्थिक बर्षमा नेपाल आयल निगमको नाफा ३३ करोड आठ लाख रुपैयाँमा सिमित हुने सरकारी प्रक्षेपण छ। 
 
निगम बाहेक गत आर्थिक बर्षमा नेपाल दूर सञ्चार कम्पनी, नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नागरिक उड्डयन प्राधिकरणले उच्च नाफा कमाएका थिए। नाफा कमाउने अन्य संस्थानमा दुग्ध विकास संस्थान, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी , हेटौँडा सिमेन्ट, कृषि सामग्री कम्पनी, राष्ट्रिय बिउ बिजन कम्पनी, दि-टिम्बर कर्पोरेसन, औद्योगिक क्षेत्र व्यवस्थापन, नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी, नेपाल वायु सेवा निगम, गोरखापत्र संस्थान, राष्ट्रिय बीमा कम्पनी, बीमा संस्थान, एनआईडिसी डेभलपमेन्ट बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेञ्ज, नागरिक लगानी कोष एवं जलविद्युत लगानी तथा विकास कम्पनी छन्।  
 
नेपाल विद्युत प्राधिकरण, उदयपुर सिमेन्ट, नेशनल ट्रेडिङ, नेपाल औषधि लिमिटेड, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगायत संस्थान भने गत आर्थिक बर्षमा घाटामा रहे।
 

Tata
GBIME