BIZMANDU
www.bizmandu.com

तीन करोड लगानीमा उदयपुर सिमेन्ट प्रदूषणरहित बनाइँदै, दुई महिनाभित्र मेसिन जडान

२०७४ जेठ १२

गाईघाट (उदयपुर)। नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ।
 
उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएको छ। यसले गर्दा उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने छ।
 
भारतबाट उद्योगमा प्रदूषण नियन्त्रण गर्न झन्डै तीन करोडको मेसिन खरिद गरेर ल्याउने तयारी भइरहेको छ। मेसिन आएर जडान गर्न बढिमा दुई महिना लाग्ने छ। 
 
सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले उद्योगले हाल प्रतिघन्टा दुई टन धुलो र धुवाँ फाल्ने गरेको जानकारी दिए। उद्योग र यसका क्षेत्र वरपरसमेत प्रदूषण बढ्दै गइरहेका कारण पनि अब मेसिन जडान गरेर उद्योगबाट हुने प्रदूषण शून्यमा झार्न लागिएको हो। 
 
धुलो र धुवाँ दुवै नियन्त्रण गर्नका लागि इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन जडान गर्ने कार्य हुन लागेका कारण उद्योगमा प्रदूषण शून्यमा झर्ने दाबी पनि उद्योग प्रशासनको रहेको छ।
 
उद्योग स्थापना भएयता अहिले उद्योगको क्षमताअनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाइएका कारण पनि अब उद्योण क्षेत्रमा प्रदूषण र धुलो वृद्धि हुँदै गइरहेकाले नियन्त्रण गर्न मेसिन जडान गर्नु अनिवार्य भएको हो। 

Tata
GBIME
Nepal Life