BIZMANDU
www.bizmandu.com

मेलम्चीको पानी असोजमा ल्याउन सुरुङको काम धमाधम, सबैभन्दा कठिन चट्टानमा सुरुङको काम गरिँदै

२०७४ बैशाख २३

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको ८७ प्रतिशत सुरुङको काम सकिएको छ।

Tata
GBIME

एक महिनाको अवधिमा ४ सय ५६ मिटर सुरुङ खनेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।अब मेलम्चीको साढे तीन किलोमिटर सुरुङ खन्न बाँकी छ।आयोजनाको सुरुङ साढे २७ किलोमिटर लामो छ।मेलम्चीको पानी सुरुङहुँदै सुन्दरीजल ल्याइनेछ।
 

आगामी असोज सम्म राजधानीमा खानेपानी ल्याउने लक्ष्य सहित काम गरिरहेको आयोजनाले ग्याल्थुममा कमजोर चट्टानका कारण समस्या भइरहेको उनले बताए। सुरुङ मार्गमा आउने चट्टानलाई पाँच भागमा बर्गिकरण गरिएको हुन्छ। पहिलो, दोस्रो र तेस्रो श्रेणीको चट्टान आउँदा तत्काल सपोर्ट दिनु नपर्ने भएकाले एकै दिनमा धेरै सुरुङ खन्न सकिन्छ।

एकदमै कडा चट्टानलाई पहिलो तीन चरणमा बाँडिएको हुन्छ। चौथो र पाँचौ श्रेणीको चट्टान आउँदा अलिकति खन्ने बित्तिकै तत्कालै सपोर्ट दिनु पर्ने भएकाले खन्न ढिलाई भएको उनले बताए।ग्याल्थुममा अहिले चौथो र पाँचौ श्रेणीको चट्टान छ। पन्तले भने, कमजोर चट्टानकै कारण दैनिक २५ मिटर सुरुङ खन्ने लक्ष्य भए पनि १५ मिटर भन्दा बढी खन्न नसकिएको हो।
 

कमजोर चट्टान भएको ग्याल्थुममा महिना भरी ७० मिटर मात्रै सुरुङ खनिएको उनले बताए। पहिले सिन्धुमा पनि पाँचौ श्रेणीको चट्टान आउँदा काममा सुस्तता आएको थियो। अहिले सिन्धुमा चौथो श्रेणीको चट्टान भेटिदा पहिले भन्दा केहि सहज भएको छ।‘हरेक १५/२० मिटरको फरकमा भिन्न खालको चट्टान आउँदा सरासर काम हुन सकेको छैन, पन्तले भने, अहिलेको ठूलो समस्या भनेकै कमजोर चट्टान हो। अन्य प्राविधिक समस्याहरु छैनन्।‘
 
कमजोर चट्टान आएको ग्याल्थुममा ७०० मिटर सुरुङ खन्न बाँकी छ भने सिन्धुमा एक हजार मिटर सुरुङ खन्न बाँकी छ। यी बाहेकका ठाउँमा भने अहिले सम्म कमजोर चट्टानको सामना गर्नु नपरेको पन्तले बताए।आयोजनामा सिन्धु-सुन्दरीजल खण्डको नौ हजार ३८८ मिटर र मुहान-अम्बाथान खण्डको ८०५ मिटरको काम 'ब्रेकथ्रु' भईसकेको छ।