BIZMANDU
www.bizmandu.com

बिदेशीसँगको डिलबाट ब्याक भएर सञ्चय कोषमा ऋण माग्न पुग्यो निगम, २२ अर्ब रुपैयाँ माग

२०७४ बैशाख १५

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाज किन्ने ऋणका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा औपचारिक आवेदन दिएको छ। 
एक बिदेशी कम्पनीसँगको ‘गोप्य’ डिलबाट ‘ब्याक’ भएर निगमले बुधबार स्वदेशी ऋणदातालाई पत्राचार गरेको हो। 

Tata
GBIME
Nepal Life

यसअघि कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई मौखिक प्रस्तावमा झुलाएर निगम महाप्रबन्धक सुगतरत्न कंशाकारले सुर्य जेएमके प्रालि नामक अस्तित्व नै नभएको कम्पनीलाई पत्राचार गरेर ऋण सम्झौताका लागि थप कागजात माग गरेका थिए। सरकारले जहाज किन्ने ऋणमा जमानी बस्ने निर्णय गरेकै दिन (गत सात बिहीबार) उनले उक्त कम्पनीलाई पत्र पठाएका थिए।

 
विवादित बिषयमा ‘नफस्ने’ निर्णय सहित निगम सञ्चालक समिति र व्यवस्थापन बिदेशीसँगको डिलबाट पछि हटेका थिए। सञ्चालक समिति अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले उक्त कम्पनीसँगको ‘डिल फिजिबल’ नदेखिएको बिजमाण्डूलाई बताएका थिए।  
 
निगमले दुई कोषसँग २२ अर्ब रुपैयाँ ऋण मागेको छ। अब अर्थमन्त्रालयसँग बसेर ‘टर्म एन्ड कन्डिसन’ टुङ्ग्याएपछि ऋण जारी गर्ने कोष स्रोतले बतायो। ‘टर्म एन्ड कन्डिसनमा धेरै त पुरानै छ, ब्याजदरबारे मात्र नयाँ छलफल हुनेहो’ स्रोतले भन्यो।
 
२२ अर्ब रुपैयाँ कर्मचारी सञ्चय र नागरिक लगानी कोषले कति कति लगानी गर्ने भन्ने पनि टुङ्गो लाग्न बाँकी छ। 
 
निगमले अमेरिकाको एएआर कर्पोरेसनबाट एयरबसका दुई वाइडबडी जहाज खरिद गर्ने सम्झौता गरि सकेको छ। दुई महिना अघि बैना स्वरुप ५० करोड रुपैयाँ भुक्तानी गरेको निमगले पहिलो किस्तामा आठ अर्ब रुपैयाँ पठाउनु पर्ने हुन्छ। दुबै जहाज अर्को बर्ष आइ पुग्नेछन्।