BIZMANDU
www.bizmandu.com

नक्कली बीमा कागजका भरमा यात्रु उडाउँदै फ्लाई दुबई, नगरेको बीमाको दावी नेको इन्स्योरेन्समा

२०७४ बैशाख ७

काठमाडौं । दुबईको राष्ट्रिय ध्वजा वाहक फ्लाई दुबईले यात्रुलाई नक्कली बीमा कागज देखाएर उडाउने गरेको फेला परेको छ। कम्पनीका एक यात्रु बीमा दावी गर्दै नेको इन्स्योरेन्समा पुगेपछि फ्लाई दुबईको 'हर्कत' खुलेको हो। 
 
आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ)कै हस्ताक्षर रहेको नक्कली बीमा सहित दाबी आएपछि कम्पनी चकित परेको छ। 'हामीले फ्लाई दुबईको यात्रुका लागि कुनै बीमा गरेका थिएनौँ, नेको इन्स्योरेन्स स्रोतले भन्यो- सिइओकै हस्ताक्षरमा जारी भएको बीमा लेख सहितको दावी आउँदा सुरुमा आफैं छक्क पर्यौं।'
 
नेकोले फ्लाई दुबईसँग आफुहरुको कुनै कारोबार र सम्झौता नगरेको भन्दै सार्वजनिक विज्ञप्ति समेत जारी गरेको छ। फ्लाई दुबईले कम्पनीको नामवाट अनधिकृत रुपमा बीमालेख जारी गरी यात्रुसँग रकम असुलेको नेको इन्स्योरेन्सको भनाइ छ। कम्पनीले सचेतना जारी गर्दै यात्रुलाई ठगिनवाट जोगिन सुझाव समेत दिएको छ। 

Tata
GBIME
Nepal Life


 

अनधिकृत रुपमा कम्पनीका सिइओ तथा कम्पनीको लेटर, लेटरप्याड र स्टाम्प दुरुपयोग गरिएको पत्ता लागेको कम्पनीको दावी छ। 'फ्लाई दुवईले यात्रुबीमा सम्वन्धी सवै डकुमेन्टलाई नक्कली गरेर यात्रुलाई ठगी गरेको थाहा भएको छ' कम्पनी स्रोतले भन्यो 'हामी आफैं पनि अनुसन्धान गरिरहेका छौ, उसले विगत तीन बर्ष अगाडिदेखी किर्ते गरेको थाहा भइसकेको छ।'
काठमाडौं-दुबई दैनिक तीन वटा उडान गर्ने फ्लाई दुबईले एक दनिमा ६ सय हाराहारी यात्रु उडाउँदै आएको छ। नेपालबाट उडान गर्ने एयरलाइन्स कम्पनीले गन्तव्य हेरेर यात्रु बीमा बापत न्युनतम सातसयदेखी २५ सय रुपैयाँसम्म लिने गर्छन्। नेकोसँगको प्रकरणले फ्लाई दुबईले भने नक्कली बीमा कागजको भरमा यात्रु उडाएर ठगी गरेको तथ्य फेला परेको हो। 
 
नेको इन्स्योरेन्सले फ्लाई दुबईलाई पत्र लेख्दै 'फ्रड'बारे जानकारी जराएको छ। कम्पनीले चाँडै यस बारे बीमा समितिलाई समेत जानकारी दिने भएको छ। 'हामीले बीमा समितिलाई चिठ्ठी लेखिसकेका छौं, भरे वा भोलीभित्र हामी समितिलाई जानकारी गराउँछौं' स्रोतले भन्यो। 
 
नेको व्यवस्थापनले हवाई सेवा प्रदायक कम्पनीको 'फ्रड' बारे अनुसन्धानका लागि प्रहरीमा उजुरी दिने तयारी समेत गरेको छ।  'हामीले मागेको सूचना नदिने कार्य फ्लाई दुबईले गर्यो भने नेपाल सरकारको कानुन अनुसार कारबाहीका लागि प्रहरीमा उजुरी दिन्छौं' स्रोतले भन्यो।
 
फ्लाई दुबईका नेपाल स्थित व्यवस्थापक नवराज शाहीले बीमा गर्न कम्पनीले अन्तर्राष्ट्रिय एजेन्ट नियुक्त गर्ने हुँदा उसैलाई जानकारी हुने बताए। फ्लाई दुबईले परासर प्रसाईंलाई नेपाल स्थित प्रतिनिधी नियुक्त गरेको छ।
 
फ्लाई दुबई पछिल्लो समय लगातार विवादमा पर्दै आएको छ। कम्पनीले आर्थिक बर्ष २०७१/०७२ नेपालबाट यात्रु उडाएको बापतको आयमा लाग्ने झन्डै नौ अर्ब रुपैयाँ कर छलेको तथ्य हालै मात्र खुलेको थियो। उडान क्रममा नेपाली यात्रुलाई बिभेद गरेको भन्दै कम्पनीको चर्को विरोध समेत भइ रहेको छ।