काठमाडौं। नगरपालिकाले सौर्य सडक बत्ती वितरण गरेको थाहापाएपछि माकलबारी बस्ने रामहरि श्रेष्ठले ७ जनाको उपभोक्ता समिति गठन गरेर आफु बसोबास गर्ने गोकर्णेश्वर नगरपालिकामा निवेदन दिए।
उनले नगरपालिकासँग आफु बसोबास गर्ने माकलबारी टोलका लागि १२ वटा सौर्य बत्ती माग गरे।
सौर्यवत्तिका लागि एक लाख ८० हजार रुपैयाँ बैंकमा जम्मा गरे। उपभोक्ता समितिमा परिवारका आधारमा १५ हजारका दरले उठाएर उनले नगरपालिकाको खातामा रकम जम्मा गरिदिए।
पैसा जम्मा गरेको एक हप्तापछि टोल सडकमा बत्ति बल्न थाल्यो। तर २ महिना नपुग्दै ४ वटा बत्तीमा समस्या देखिन थाल्यो। बल्न छाडे। उनी नगरपालिका गएर पुन मर्मतको लागि निवेदन दिए।
नगरपालिकाले मर्मत लागि १० प्रतिशत धरौटि राखेकाले त्यही पैसाबाट प्राविधिक पठाएर मर्मत गरिदियो। फेरि त्यसको केहि दिनमा समस्या देखिन थाल्यो। उनी फेरि नगरपालिका जाने तयारीमा छन्।
सौर्य बत्ती राखेको एक बर्ष नपुग्दै विभिन्न समस्याहरु देखिन थालेको राहहरिजस्तै अन्य उपभोक्ताको गुनासो छ। नेपालमा सौर्य सडक बत्ती भित्रिएको अहिले एक बर्ष मात्र भएको छ। काठमाडौ महानगरपालिका मात्रै लगभग दुई हजार सौर्य सडक बत्ती बल्छन।
उपत्यकाभित्र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, नेपाल विद्युत प्राधिकरण र जिल्ला विकास समितिले सौर्य बत्ती जडान गरेका छन्।
बत्तीहरु बल्न छाडे तथा समस्या देखिएमा जहाँबाट जोडिएको हो त्यहाँ गएर निवेदन दिन सकिने व्यवस्था छ। जस्तो महानगरपालिकाबाट जोडिएका हुन् भने महानगरपालिका जान सकिन्छ। निवेदनका आधारमा मर्मत हुन्छ।
सरकारको लक्ष्य अबको पाँच बर्षभित्र उपत्यकाको सम्पुर्ण सडकलाई सौर्य बत्ती बालेर जीवन्त राख्ने हो।
कति समयसम्म मर्मत हुन्छ ?
अहिले उपत्यकाभित्र बालिएका सौर्य बत्तीको आयु ५ बर्षको छ। जसमा २ बर्ष ग्यारेण्टी र थप ३ बर्षको वारेण्टी हुन्छ। पाँच बर्षसम्म समस्या आएमा त्यसको समाधान सम्बन्धित निकायबाट हुन्छ।
नगरपालिकाबाट लिएको हो भने त्यहीबाट मर्मत हुने शहरी विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए। उनले जिल्ला विकास समिति, विद्युत प्राधिकरणबाट जोडिएको हो भने त्यहि सम्पर्क गर्न सकिने बताए।
आवश्यक परेको खण्डमा सौर्य बत्तीका समस्या समाधानका लागि दुइ करोड रुपैयाँसम्म खर्च गर्न सकिने बजेट छ।
नगरपालिका, प्राधिकरणले पनि उपभोक्ता समितिसँग १० प्रतिशतसम्म धरौटी राखेका छन्। जसको उदेश्य सौर्य बत्तीमा देखिएका समस्याहरु समाधान गर्नु हो।
अहिले लगभग १० प्रतिशत सौर्य बत्तीमा समस्या रहेको महानगरपालिकाको प्रारम्भिक अनुमान रहेको छ।