BIZMANDU
www.bizmandu.com

हस्तान्तरण गरि सकेको कोलोनीको पर्खाल सिभिल होम्सले भत्कायो, बसोबास गर्नेको विरोधपछि पानी बन्द

२०७३ चैत्र ६

काठमाडौं । सिभिल होम्सको ललितपुर सुनाकोठीमा रहेको सामुहिक आवासमा सिमा जोडिएको घरलाई भित्र मिसाउन खोज्दा तनाव उत्पन्न भएको छ। सिभिल होम्स व्यवस्थापनले कोलोनीको पर्खाल भत्काएर खानेपानीको स्रोतमा ताला लगाएपछि बिवाद प्रशासनसम्म पुगेको हो।
 
२०७२ सालमा नै सबै घर बेचेको सिभिल होम्सले कागज गरेर व्यवस्थापनबाट हात झिकेको थियो। आफुहरुले आन्तरिक व्यवस्थापनबाटै सुरक्षा देखि अन्य कुराको प्रवन्ध मिलाइ रहेको कोलोनीमा बस्नेहरुको आवासीय समाजका अध्यक्ष प्रमोद प्रधानले बताए।

Tata
GBIME
Nepal Life

यही क्रममा सिभिल होम्सका कर्मचारी जबरजस्ती भित्र पस्न खोजेपछि समस्या आएको उनले दावी गरे।

 
‘सिभिल होम्सले सम्पत्ति हस्तान्तरण गरिसके पछि हामीले सुरक्षा व्यवस्थापन आफैँ गर्दै आएका थियौं, उनले भने- हाम्रो सुरक्षा गार्डले कसैलाई पनि अनुमति बिना प्रवेश गर्न दिँदैन, उनीहरुलाई पनि नदिएको हो।’
 
गार्डले काम बिना प्रवेश गर्न दिदैनौँ भने पछि सिभिल होम्सका कर्मचारी पर्खाल भत्काएर प्रवेश गरेको प्रधानले आरोप लगाए।
 
शुक्रबार दिउँसो प्रहरीको भ्यान सहित गएर सिभिल होम्स कर्मचारीले पर्खाल भत्काएको समाजको भनाइ छ। भित्र छिरेर उनीहरुले खानेपानीको स्रोतमा ताला लगाईदिएको प्रधानले बताए। प्रहरी सहितको टोलिले सामुहिक आवासमा बसेका सदस्यलाई चोरिको झुटो मुद्दा चलाई नियन्त्रणमा लिएको समेत उनले दावी गरे।


जिल्ला प्रशासन कार्यालय पुगेका समाजका प्रतिनिधी।
 

उक्त विषयमा ध्यानाकर्षण गराउन समाजका प्रतिनिधी आइतबार दिउँसो ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले समाजको तर्फबाट ज्ञापनपत्र आएको र थप अनुसन्धान गरि निश्कर्षमा पुग्ने जानकारी दिए।

घर बेचे पनि त्यहाँ भित्र रहेका स्विमिङ पूल, क्लव, साउना लगायतका सम्पत्ति भाडामा दिएको सिभिल होम्सको दावी छ। ‘त्यो सम्पत्ति भित्र वस्नेहरुले भोगचलन गरे पनि त्यसमा हाम्रो स्वामित्व छ, सिभिल होम्सका सहायक प्रबन्धक ओमकृष्ण महर्जनले भने- हामीलाई भित्र प्रवेश गर्नै नदिए पछि पर्खाल फोरेर छिरेको र आफ्नो सम्पत्तिमा ताला लगाएका हौँ।’


सुनाकोठीमा रहेको उक्त कोलोनीमा १९४ यूनीट घर रहेका छन्। करिब एक हजार जनसंख्या रहेको कोलोनीमा सिभिल होम्सले ताला लगाए पछि दुई दिन देखि खानेपानी नपाएको समाजको भनाइ छ।
 
कोलोनीसँगै सिमाना जोडिएको एउटा घरलाई पर्खाल भत्काएर सिभिल होम्स व्यवस्थापनले भित्र पार्न खोजेको हो।