BIZMANDU
www.bizmandu.com

गमगढीदेखि रारासम्मको सडक कालोपत्रे गरिने, १६ किलोमिटर सडक कालोपत्रे भए पर्यटक दोब्बर हुने

२०७३ फागुन १३

मुगु। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सदरमुकाम गमगढी बजारदेखि ताल्चा विमानस्थल हुँदै रारातालसम्म पुग्ने १६ किमी मोटरबाटोको कालोपत्रे तत्काल सुरु गरिने  प्रतिवद्धता व्यक्त गरेका छन्।
 
नेपाल दलित सङ्घ मुगुको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले कर्णालीका दलित परिवारको आवास कार्यक्रमअन्तर्गत एक गाविसमा बन्ने १० घरलाई बढाएर २० घर बनाइने र गमगढी बजारलाई व्यवस्थित बनाउन योजना बनाइने जानकारी दिए।
 
सहरी विकास मन्त्रालयअन्तर्गत कर्णालीमा गरिने विकासको गुणस्तर र कार्य सहजताका लागि पाँचवटै जिल्लामा इन्जिनियरसहितको सब युनिट राखिने पनि उनले जानकारी दिए।
 
सदरमुकाम गमगढीबाट रारा तालसम्म पुग्ने १६ किमी सडक मात्र भए पनि ग्राभेल र कालोपत्रे भएमा पर्यटकलाई धेरै सहज हुने र तिनको सङ्ख्या दोब्बरले बढ्ने अपेक्षा गरिएको छ । गत वैशाखदेखि कात्तिक मसान्तसम्म रारा घुम्न २५ हजार बढी आन्तरिक पर्यटक आएको नेपाल पर्यटन बोर्डको अभिलेखले देखाएको छ ।
 
सो अवसरमा पूर्वशिक्षाराज्यमन्त्री हस्तबहादुर मल्लले मुगु जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सोरुकोट, तारापानी, पुलु, छाइल, माझचौर र रातापानी क्षेत्रलाई सहरका रुपमा विकास गर्न मन्त्रीसँग आग्रह गरे।
 
नेपाल दलित सङ्घ मुगुका अध्यक्ष हर्क नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमपछि बन्दसत्र सुरु भएको छ । जिल्लाभरिका गाउँस्तरीय दलित सङ्घका सदस्य सहभागी भएको सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । 
 

Tata
GBIME
Nepal Life