BIZMANDU
www.bizmandu.com

विराट एक्स्पोमा उडान गर्ने माउन्टेन फ्लाइटका सबै टिकट बिके,उडान थप गर्ने तयारी

२०७३ फागुन १२

विराटनगर ।विराट एक्स्पोका उपलक्ष्यमा यति एयरले विराटनगरबाट तीन दिन सञ्चालन गर्ने माउन्टेन फ्लाइटका सबै टिकट विक्री भएका छन् ।
 
माउन्टेन फ्लाइटका संयोजक एवम् पर्यटन व्यवसायी भवीश श्रेष्ठले यही फागुन १४, १५ र १६ गरी तीन दिनसम्म बिहान ९ बजेदेखि सञ्चालन गरिने हिमाली उडानका सबै टिकट विक्री भइसकेको जानकारी दिए।
 
उद्योग सङ्गठन मोरङको आयोजनामा यही फागुन ११ देखि १७ गतेसम्म विराट एक्स्पोको आयोजना भइरहेको छ ।काठमाडौंबाट एक नेपालीका लागि १२ हजार रुपैयाँ पर्ने माउन्टेन फ्लाइटको भाडा विराटनगरबाट ९ हजारमात्र राखिएको छ । एक उडानमा २० यात्रु राखेर रोमाञ्चक माउन्टेन फ्लाइट सञ्चालन गरिँदैछ । 
 
‘उडान थप गर्ने विषयमा हामी यति एयरसित कुरा गर्दैछौँ’, संयोजक श्रेष्ठले भने, ‘हिमाली उडानका लागि इच्छुकको सङ्ख्या बढिरहेको छ ।’पूर्वका पर्यटन व्यवसायीले विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्न धेरै अगाडिदेखि माग गरेको बताउँदै श्रेष्ठले राजधानीबाट भन्दा विराटनगरबाट यो उडान छिटो र सहुलियतपूर्ण हुने दाबी गरे ।

Tata
GBIME
Nepal Life

राजधानीबाट ६५ मिनटमा पूरा हुने माउन्टेन फ्लाइट विराटनगरबाट ५० मिनटमा हुन्छ।विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने हो भने भारतको कोलकाता र पटनासम्मका पर्यटकलाई आकर्षित गर्न सकिने श्रेष्ठले बताए ।
 

दुई महिनापछि पूर्वका पर्यटन व्यवसायी भारतका विभिन्न शहर गएर नेपालको पर्यटकीय आकर्षणका बारेमा प्रचार गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।