BIZMANDU
www.bizmandu.com

महाकाली नदीमा पुल र १५ वटा सडक योजनाकालागि भारतले सहयोग गर्ने, सहमति पत्र हस्तान्तरण

२०७३ फागुन ८

काठमाडौँ। भारतले महाकाली नदीमा पुल र १५ वटा सडक योजनाको निर्माणकालागि ऋण सहयोग  गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच आज विहान भएको भेटका क्रममा दुवै मन्त्रीको उपस्थितिमा ऋण सहयोग स्वीकृतिको अन्तिम सहमति पत्र हस्तान्तरण समेत भएको छ । 

महाकाली नदीमा चार लेनको पक्की पुल बनाउन र अन्य  १८ सडक योजनाका लागि भारत सरकारले  ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण सहयोग गर्ने सहमति पत्र हस्तान्तरण भएको हो ।

सहमति पत्र अनुसार गण्डक नहर सडक, सहजपुर–बोगटान–दिपायल, वसन्तपुर–कथरिया–कबाहीगोठ–पिपराढी–पदम, तराई सहरी सडक नेपालगन्ज, रम्भापुर–गुलरिया, गुलरिया–रजनवा, लमही–घोराही, घोराही–तुलसीपुर, चरीकोट–तामाकोसी–जिरी, सेलेघाट–रामेछाप–साँघुटार, तराई सहरी सडक–राजविराज, सिरहा–मलङ्गवा–जलेश्वर, भालुवाङ–बाग्दुला–भीमगिठे, भेडेटार–बुधबारे–रबी–राँके, गैँडाकोट–रामपुर–राम्दी, चन्द्रौटा–कृष्णनगर, कृष्णनगर सहरी सडक, बर्दिवास–जलेश्वर सडक योजनाका लागि ३४०.२२ अमेरिकी डलर अर्थात्  ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण सहयोग स्वीकृत भएको छ ।

भेटमा नेपालका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, हुलाकी सडकमा भारतीय सहयोगको प्रतिवद्धता साथै नेपालमा रेल  सेवाको विकास, विस्तार एवं निर्माणाधीन आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढाउने आदि विषयमा छलफल भएको थियो।

छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई देशका बीचमा आपसी सम्बन्ध, सद्भाव र पारस्परिक सहयोग कायम गर्दै नेपालको पूर्वाधार विकासमा भारतीय सरकारको तर्फबाट सहयोगको निरन्तरताको अपेक्षा र विश्वास व्यक्त गरे।

भारतीय रेलमन्त्री प्रभाकरले नेपाल भारत असल छिमेकीबीच असल सम्बन्ध कायम गर्ने र सहयोग आदान प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।
 
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतो, भारतीय राजदूत रणजित रे र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङलगायत भारतीय प्रतिनिधि मण्डलका सदस्यको सहभागिता रहेको थियो।